आमा-छोरा मृत फेला, अर्का छोराको अवस्था गम्भीर, श्रीमान् सम्पर्कविहीन

Share:

सिरहाको लहान नगरपालिका-१ मटिअर्वामा आमा र छोराको शव फेला परेको छ भने अर्का छोराको अवस्था गम्भीर रहेको छ। मंगलबार २३ वर्षीया रञ्जिता चौधरी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका ५ वर्षीय जेठा छोरा एरोन चौधरी खाटमुनि मृत अवस्थामा भेटिएका छन्।

रञ्जिताका ९ महिनाका अर्का छोरा गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई प्रारम्भमा प्रादेशिक अस्पताल लहानमा भर्ना गरिएको थियो भने त्यहाँबाट थप उपचारका लागि सप्तऋषि अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार सिंहले जानकारी दिए।

परिवार लहान नगरपालिका-१२ भोटिया टोलस्थित एक कोठामा डेरामा बस्दै आएको थियो। घटना भएको बेलामा कोठा भित्रबाट चुकुल लगाइएको अवस्था रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सोही घरमा डेरा गरी बस्ने अन्य व्यक्तिले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेर ढोका फोरेर भित्र पसेको थियो। प्रहरीका अनुसार रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराएकी हुन सक्ने र त्यसपछि झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। रञ्जिताका श्रीमान् प्रविण चौधरी केही समयदेखि घर बाहिर बस्दै आएका थिए। उनी पहिले दुई/तीन दिनको फरकमा घर आउने गरे पनि पछिल्लो समय घर नफर्किएको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।

कमेन्ट गर्नुहोस्
Share: