
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी शुक्रबार र शनिबार आयोजना गर्न लागेको ‘आठौं इक्यान एजुकेसन फेयर’को सम्पूर्ण तयारी पूरा भएको छ। टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रा.लि.को मुख्य प्रायोजनमा पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा आयोजना हुने मेला सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कोभिड महामारीपछि लामो समय स्थगित भएको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट स्वीकृति प्राप्त गरी आयोजना गर्न लागिएको हो।
मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। इक्यानका सदस्य संस्था, ब्रिटिश काउन्सिललगायत ६५ वटा स्टल रहने मेलामा सहभागी विद्यार्थीहरूले ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकटजस्ता आकर्षक उपहार लक्की ड्रमार्फत जित्न सक्नेछन्।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेका अनुसार मेलामा केवल नेपाल सरकारबाट स्वीकृत प्राप्त परामर्शदाताहरू मात्र सहभागी हुनेछन्। उनले भने, “विश्व एउटा ग्लोबल भिलेजमा परिणत भइरहेको सन्दर्भमा नेपाली विद्यार्थीले आफूले रोजेको विषय र देशअनुसार उच्च शिक्षा हासिल गर्ने अवसर पाउनु नैसर्गिक अधिकार हो।”
मेला संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले मेलाले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने जानकारी दिए। “विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार विश्वविद्यालय वा कलेज छान्न सक्ने सुविधा मेलामा उपलब्ध हुनेछ,” उनले भने।
इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले हाल देशभर ७२० वटा शैक्षिक परामर्श संस्था नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत रहेको जानकारी दिँदै ती कन्सल्टेन्सीमार्फत भरपर्दो सेवा लिन सकिने उल्लेख गरे। इक्यानले केवल विदेश पठाउने मात्र नभई अध्ययन पश्चात नेपाल फर्काउने अभियानसमेत सञ्चालन गरिरहेको बताए। “मानव स्वभाव नै अवसरको खोजी गर्नु हो,” उनले भने, “तर हामीले नेपाल फर्काउने अभियानलाई पनि सशक्त रूपमा अघि बढाउँदै छौं।”
टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई सफल बनाउन संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए। उनले विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई मेलाबाट लाभ उठाउन आग्रहसमेत गरे।
मेलामा ब्रिटिश काउन्सिल नेपालको सहकार्य रहनेछ। त्यस्तै, ‘पावर्ड बाइ’ मा युनिभर्सिटी अफ वर्सेस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन्। ग्रेस इन्टरनेसनल प्लाटिनम प्रायोजक, चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन/आईआईई गोल्ड प्रायोजक र एनएमबी बैंक बैंकिङ पार्टनरको रूपमा सहभागी हुनेछन्।
पर्यटकीय राजधानी पोखरामा आयोजना हुन लागेको यस बृहत् शैक्षिक मेलाबाट गण्डकी प्रदेशका विद्यार्थी, अभिभावक तथा सरोकारवालाले महत्वपूर्ण लाभ उठाउने विश्वास आयोजकको छ।
