पोखरामा टिम धनराजको रोमाञ्चक जित, टिम राजेशमाथि २-१ को सराहनीय जित

Share:

पोखरा। दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (IWVL) को पूर्वसन्ध्यामा पोखराको लेकसाइडस्थित क्याम्पिङ चौरमा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा नगर प्रमुख धनराज आचार्य नेतृत्वको टिम धनराज विजयी भएको छ। महानायक राजेश हमाल नेतृत्वको टिम राजेशमाथि टिम धनराजले २–१ सेटको जित दर्ता गरेको हो।

उत्साहजनक दर्शक उपस्थितिमा सम्पन्न खेलको पहिलो सेट टिम राजेशले आफ्नो पक्षमा पारे पनि, टिम धनराजले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला दुई सेट जित्दै खेल आफ्नो पक्षमा पार्‍यो। दुबै टिममा भोलि सुरु हुन लागेको लिगमा सहभागी फ्रेन्चाइज टिमका कप्तानहरूले समेत साथ दिएका थिए, जसले खेललाई अझ रोमाञ्चक बनाएको थियो।

खेलपछिको मन्तव्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भलिबलजस्ता राष्ट्रिय खेलहरूको विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा लिग आयोजना हुनु ठूलो उपलब्धि भएको बताए।

वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि पोखरामा

नेपाल भलिबल सङ्घको आयोजनामा यही भदौ २० देखि २८ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा दोस्रो IWVL आयोजना हुँदैछ। पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा आयोजना हुन लागेको यो लिगले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल पर्यटनको केन्द्र बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

आयोजकका अनुसार, पोखराको सक्रिय खेल संस्कृति, भलिबलप्रतिको उत्साह र दर्शक सहभागिता हेर्दा यो सहर लिगका लागि अत्यन्त उपयुक्त गन्तव्य हो।

छ फ्रेन्चाइज टिमहरूको सहभागिता

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। जसमा काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइटेड, लुम्बिनी लाभा र पोखरा निन्जाज (स्थानीय प्रतिनिधित्व) रहेका छन्।

पोखरा निन्जाज टिमले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्नेछ। आयोजकहरूले लिगमा खेलकुद, पर्यटन र सांस्कृतिक उत्सवको संगम देखिने अपेक्षा गरेका छन्।

मैत्रीपूर्ण खेलमार्फत लिगको माहोललाई थप चुल्याइएको आयोजकको भनाइ छ। पोखराको लेकसाइडमा साँझ परेको मनोरम परिवेशमा भएको खेलले लिगप्रतिको उत्साहलाई झनै बलियो बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: