पोखरामा सुरु भयो गण्डकीकै ठूलो शैक्षिक मेला, ६५ स्टलसहित आठौं इक्यान एजुकेसन फेयर

Share:

पोखरा। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ। टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा मेला सञ्चालन भएको हो। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मेला उद्घाटन गर्दै इक्यानले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित शैक्षिक संस्थासँग जोड्ने महत्वपूर्ण काम गरिरहेको बताए। उनले भने, “मेलाले हजारौं विद्यार्थी र अभिभावकलाई उचित जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष रुपमा जोड्नेछ।”

मन्त्री थापाले शिक्षा क्षेत्रलाई राष्ट्रिय विकासको मेरुदण्ड भन्दै गुणस्तरीय शिक्षाको आवश्यकतामाथि जोड दिए। उनले प्रदेश सरकारले देशमै उच्चस्तरीय शैक्षिक अवसर विस्तार, प्रविधि तथा सीपमूलक शिक्षाको प्रवर्द्धन, र विदेश जाने विद्यार्थीका लागि पारदर्शी तथा सुरक्षित वातावरण सुनिश्चित गर्ने नीति लिएको जानकारी दिए। साथै, परामर्श कार्यविधिको कार्यान्वयनले दर्ता, नवीकरण र खारेजी प्रक्रिया व्यवस्थित भएको बताए।

स्थानीय तथा केन्द्रीय नेतृत्वको सक्रिय सहभागिता

इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैह्रेलाई मेला पुनः सञ्चालन गर्न सफल भएकोमा खुशी लागेको बताए। “हाम्रो चाहना नेपाली विद्यार्थी स्वदेशमै उच्च शिक्षा हासिल गरून भन्ने हो,” उनले भने, “तर धेरै विद्यार्थी विदेश गएर भविष्य सुरक्षित गर्न चाहन्छन्।” उनले विदेश अध्ययनको सोच बनाउने विद्यार्थीलाई सत्य, तथ्यमा आधारित परामर्श र अभिभावकीय मार्गदर्शन आवश्यक भएकोमा जोड दिए।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले यस्ता गतिविधिहरू राजधानी काठमाडौँमा सीमित थिए तर अहिले देशैभर फैलिएको उल्लेख गरे। उनले नीतिनियम निर्माणको क्रममा सरोकारवालासँग छलफल गरी बनाइने कानुन बलियो हुने धारणा व्यक्त गरे।

इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले इक्यानको २९औं स्थापना दिवस काठमाडौंमा मनाइरहँदा पोखरामा आयोजना गरिएको मेलाले संस्थाको गतिविधि देशव्यापी भएको पुष्टि गरेको बताए। उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन आवश्यक रहेको उल्लेख गर्दै नीति निर्माणमा सरोकारवाला सहभागी गराउनुपर्ने सुझाव दिए।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना तथा भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने गन्तव्यका रूपमा मेलाले भूमिका खेलेको बताए। “फरक–फरक परामर्श केन्द्र धाउनुपर्ने अवस्थालाई दुई दिनको मेलाले सहज बनाउनेछ,” उनले भने।

पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य संस्थाबाट मात्रै आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या आएमा इक्यान सधैं सहयोगी बन्ने प्रतिवद्धता जनाए।

केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर ७२० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत रहेको र ती केन्द्रबाट विश्वासिलो सेवा लिन सकिने जानकारी दिए। “विद्यार्थी विदेश जाने मात्र नभई अध्ययनपछि नेपाल फर्कने अभियानमा पनि इक्यान लागिपरेको छ,” उनले भने।

मेलामा ६५ स्टल

मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू, इक्यानका सदस्य संस्था, ब्रिटिश काउन्सिललगायत ६५ स्टल छन्। मेलामा सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहारसहित लक्की ड्रको व्यवस्था गरिएको छ।

मेलामा ब्रिटिश काउन्सिल नेपालको सहकार्य रहेको छ भने ‘पावर्ड बाइ’ मा बेलायतस्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन्। प्लाटिनम प्रायोजक ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजक चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन/आईआईई तथा बैंकिङ पार्टनर एनएमबी बैंक रहेका छन्।

मेलाको संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति प्राप्त मेला शनिबारसम्म चल्नेछ। आयोजकका अनुसार यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला हो।

कमेन्ट गर्नुहोस्
Share: