
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा तथा १५औं अधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानमा अभूतपूर्व उत्साह देखिएको छ। कुल २०१८ मतदाता मध्ये १८८१ जनाले मतदान गरी ९३.०३ प्रतिशत मतदान भएको निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिए।
चुनावमा व्यावसायिक र राजनीतिक चासो एकसाथ
विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भयो। दिनभर संघको परिसर व्यवसायी, स्थानीय नेताहरु, सरोकारवाला र सर्वसाधारणको भीडले खचाखच भएको दृश्य राजनीतिक चुनावभन्दा कम थिएन। यसपटकको अधिवेशनमा विगतका वर्षभन्दा बढी चासो र चहलपहल देखिनु यसको विशेषता रह्यो। चुनावलाई विशेष बनाउने अर्को पक्ष भनेको दल निकट व्यवसायीहरूको गठबन्धन हो। एकातिर कांग्रेस र माओवादी केन्द्र निकट व्यवसायीहरूको गठबन्धन रहेको थियो भने अर्कातिर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूको गठबन्धन रहेका थिए।
दुई पक्षबीच प्रत्यक्ष प्रतिस्पर्धा हुँदा चुनावी माहोल थप रोमाञ्चक बनाएको छ। संघीय र प्रदेश सरकारमा सँगसँगै रहेका दलहरू संघको नेतृत्वका लागि भने एक-अर्काविरुद्ध मैदानमा उत्रिएका छन्। संघको नेतृत्वका लागि यसपटक दुई समूहबाट उम्मेदवारी परेको छ । जसमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु), प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उप-महासचिवमा लक्ष्मीप्रसाद ढुंगाना (एलपी) कोषाध्यक्षमा टिकाराम सापकोटा, सदस्यहरुमा घनश्याम ढुंगाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) महिला सदस्यमा सपना सुवेदी, लक्ष्मी ठाकुर (सुनार) एसोसिएट सदस्यमा प्रवेश बन्जरा तथा संस्थागत सदस्यमा वीरभद्र कंडेल (साझा उम्मेदवार) रहेका छन्।
यस्तै, वर्तमान महासचिव जानुका पराजुली अधिकारीको नेतृत्वममा वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी), महासचिवमा भरतराज ओझा, उप-महासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन् भने सदस्यहरुमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भवीन्द्र पुन (भविन), सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी, महिला सदस्यमा शर्मिला श्रेष्ठ, गंगा सापकोटा परियार, एसोसिएट सदस्यमा दयाराज भण्डारी तथा
संस्थागत सदस्यमा वीरभद्र कंडेल (साझा उम्मेदवार) रहेका छन्।
मतगणना आइतबार बिहान ७ बजेबाट सुरु
निर्वाचन आयोगका अनुसार मतगणना आइतबार बिहान ७ बजेबाट सुरु भएको छ। कडा प्रतिस्पर्धा भएकाले परिणाम प्रतीक्षारत सबैको ध्यान अब मतगणतर्फ केन्द्रित छ। यसपटकको अधिवेशनले लेखनाथको व्यावसायिक समुदायमा लोकतान्त्रिक अभ्यासको परिपक्वता मात्र होइन, व्यवसायी र राजनीतिक क्षेत्रको गहिरो अन्तर्सम्बन्ध पनि उजागर गरेको छ। मत परिणाम जे आए पनि संघको नेतृत्वले अबको २ वर्ष लेखनाथको व्यावसायिक भविष्य निर्माणमा निर्णायक भूमिका खेल्नेछ।
