आज दिउँसो दुई प्रदेशमा भारी वर्षा हुने

Share:

काठमाडौं। हाल देशभरि मनसुनको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।

महाशाखले अद्यावधिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा पछिल्लो एक घन्टायता १०.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिन्धुपाल्चोकको तार्के घ्याङमा ९ मिलिमिटर वर्षा भएको छ। मोरङको लेटाङमा ६.६ मिलिमिटर, ताप्लेजुङमा ६.४ मिलिमिटर, धनकुटाको मुलघाटमा ४.२ मिलिमिटर वर्षा भएको छ।

कास्की, म्याग्दी, मुस्ताङ, लमजुङ, सिन्धुपाल्चोक, दोलखा, झापा, पाँचथर, धनकुटा, सिरहा, उदयपुर, सर्लाहीका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

सोमबार दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो नै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भू-भागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: