शान्त पोखरा जेनजी आतंकमा: ३० भन्दा बढी स्थानमा तोडफोड र आगजनी

Share:

पोखरा । ‘शान्त र पर्यटकीय’ सहर भनेर परिचित पोखरा पछिल्लो केही दिनयता हिंसा, तोडफोड र आगजनीको आतंकमा फसेको छ। जेनजी नाममा प्रदर्शनका क्रममा हिंसात्मक रूप लिएको देखिन्छ। मंगलबार भएको आक्रमणमा पोखराका प्रमुख सरकारी, निजी र ऐतिहासिक संरचनासहित पार्टी कार्यालय, शिक्षालय, अदालत, प्रहरी चौकी, होटल-रिर्सोट, र व्यक्तिगतरूपमा चिनिएका व्यक्तिहरूको घर समेत लक्ष्य बनाइयो। आम नागरिक त्रसित छन्, सुरक्षाकर्मी थाकेका छन् र प्रशासन मौनजस्तै देखिएको छ। पोखरा शहरमा मंगलबार एकै दिन भएको संगठित आक्रमणमा ३० भन्दा बढी स्थानमा तोडफोड, आगजनी र लुटपाट भएका छन्। घटना विवरण हेर्दा अवस्था अत्यन्तै भयावह देखिन्छ ।

क्षति भएका स्थानहरू

पोखरा महानगर प्रमुख धनराज आचार्यको निवासमा आगजनी, भाटभटेनी सुपरमार्केटमा लुटपाट र आगजनी, जिल्ला अदालत कास्की, जिल्ला प्रशासन कार्यालय, लोक सेवा आयोग, नापी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी निकायहरूमा आगजनी, शिक्षा विकास निर्देशनालय, परीक्षा नियन्त्रण कार्यालय, गण्डकी विश्वविद्यालय, पोखरा महानगरपालिका, शैक्षिक संस्थाहरू, विभिन्न पार्टी कार्यालयहरू नेकपा एमाले, नेपाली कांग्रेस, र अन्य दलका स्थानीय कार्यालयहरूमा तोडफोड, लेकसाइड क्षेत्रका ठूला ३ रिर्सोटहरू, पोखरा ट्रेड महल, बगैँचा रिर्सोट, विजयपुर, न्युरोड, पृथ्वीचोक लगायतका क्षेत्रमा भीषण क्षति, प्रहरी चौकीहरू, वडा कार्यालयहरू ३,५,८,१२,१३,१४,१५,२५ मा तोडफोड, पृथ्वीचोकमा लखन थापाको सालिक तोडफोड, मन्त्री बिन्दुकुमार थापाको घरमा आगजनी तथा राजीव पहारीको निजी निवासमा क्षति पुगेको छ ।

यस्तै पोखरामा हिंसा भड्किनु पर्यटन उद्योगका लागि गम्भीर धक्का सावित भएको छ। दशैं/तिहार नजिकिँदै गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु हुने समयमै यस्तो अवस्था सिर्जना हुनु अर्थतन्त्रका लागि गम्भीर खतरा हो। स्थानीय बासिन्दा र व्यवसायीहरू आक्रोशित छन्। एक व्यवसायी भन्छन्, “हामी शान्ति खोज्दै थियौँ, आन्दोलनकर्ताहरूले यति ठूलो हिंसा फैलाउँछन् भन्ने सोचेका पनि थिएनौँ। सरकारले चाँडै नियन्त्रण नगरे गम्भीर परिणाम आउन सक्छ।”

स्थानीय प्रशासन, सुरक्षाकर्मी र नेपाली सेनासमेतको उपस्थिति हुँदाहुँदै यस्तो स्तरको क्षति हुनु गम्भीर चिन्ताको विषय बनेको छ। नागरिकहरूले राज्य संयन्त्रको नालायकीपनप्रति प्रश्न उठाउन थालेका छन्। सामाजिक सञ्जालमा पोखरालीहरूले सरकार र सुरक्षा निकायप्रति आक्रोश पोख्दै लेखेका छन् “हामी बाँच्न खोजेका हौँ, राजनीतिक खेलमा हामीलाई जलाइँदैछ। यो जनआन्दोलन होइन, यो योजनाबद्ध विध्वंस हो।”

हालसम्म कुनै संगठन वा नेतृत्वले यी आक्रमणहरूको जिम्मा औपचारिक रूपमा लिएको छैन। तर घटनामा संलग्न समूहहरू जेनजी नामको आडमा हिंसा गर्दै आएको देखिन्छ। यस समूहले सामाजिक सञ्जालमार्फत जनमत निर्माण गर्दै, प्रत्यक्ष आक्रमणमा उत्रिने रणनीति अपनाएको प्रस्ट देखिएको छ। सरकार, सुरक्षा निकाय र नेपाली सेना अबको प्रतिक्रिया र रणनीतिले पोखराको सुरक्षाको भविष्य निर्धारण गर्नेछ। यदि चाँडै हस्तक्षेप गरिएन भने, यो ‘हिंसात्मक ट्रेन्ड’ देशभर फैलिन सक्ने चिन्ता थपिँदै गएको छ।

पोखरा, जहाँ कहिल्यै ठूलो आन्दोलनको इतिहास थिएन, आज आगोको शहर बनिसकेको छ। नेतृत्वविहीन आक्रोश, अराजक ऊर्जा र जिम्मेवार निकायहरूको निष्क्रियता यी सबै मिलेर पोखराको अनुहार बद्लिँदैछ। शान्तिका नाममा चिनिएको सहर अहिले आफूलाई नै चिन्न नसक्ने अवस्थामा पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: