
काठमाडौं । देश राजनीतिक रिक्तता, सरकारविहीन अवस्था र जनआक्रोशको चुलिंदो लहरसँग जुधिरहेको बेला लेखक, पत्रकार, राजनीतिक विश्लेषक, मानवशास्त्री, चिकित्सक, कवि, कलाकारसहितका विभिन्न क्षेत्रका २० जना वरिष्ठ नागरिकले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक सरकार गठनतर्फ अग्रसर हुन अपिल गरेका छन्।
उनीहरूले संविधानको भावना अनुरूप नागरिक सर्वोच्चता स्थापित हुने गरी अन्तरिम सरकार गठन गर्न राष्ट्रपति कार्यालयले तत्काल नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका छन्।
“संविधानका पालक र संरक्षकको भूमिकामा रहनुभएका राष्ट्रपतिले अबको संकट चिर्न ढिलाइ गर्नु हुँदैन,” विज्ञप्तिमा भनिएको छ, “संविधान सभामार्फत बनेको संविधानको दायराभित्र रहेर जेनजी आन्दोलनको भावना समेट्ने गरी नागरिक सरकार बनाउने पहल आवश्यक छ।”
साथै, राष्ट्रपतिद्वारा हुने संवाद, परामर्श र छलफल राष्ट्रपति कार्यालयमै हुनु पर्ने जनाउँदै उनीहरूले जङ्गी अड्डालाई राजनीतिक संवादको केन्द्र नबनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा सरकारले जेनजी आन्दोलनमाथि चालेको “अलोकतान्त्रिक, बर्बर र दमनकारी” कार्यको गम्भीर निन्दा गरिएको छ। “सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आवाज दबाउने प्रयासले सरकारको चरम अधिनायकवादी चरित्र उजागर भएको छ,” उनीहरूको आरोप छ।
त्यस्तै, आन्दोलनको आडमा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट र आगजनीप्रति पनि उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको राजीनामापछि पनि नयाँ सरकार गठन नहुँदा देश राजनीतिक शून्यता र अन्योलमा रहेको उल्लेख गर्दै उनीहरूले लोकतान्त्रिक समाधानका रूपमा सहमतिको आधारमा संसद्बाट अनुमोदित प्रक्रिया अपनाई ताजा जनादेशमा जानुपर्ने बताएका छन्।
“संसद् जीवित छ, समाधान त्यहीँबाट खोज्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “तर, त्यसका लागि संसद्भित्र रहेका दलहरूले आत्मसमीक्षा गर्दै नेतृत्व परिवर्तन र संरचनागत सुधार गर्नुपर्ने बेला आएको छ।”
संविधानविरुद्ध हुने कुनै पनि प्रयास “नेपाली जनताले स्वीकार्ने छैनन्” भन्दै उनीहरूले गणतन्त्र र संघीय लोकतान्त्रिक संविधानको रक्षा सबैको साझा जिम्मेवारी भएको स्मरण गराएका छन्।
विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रमुख हस्तीहरूमा अनुप सुवेदी, अरुण जोशी, इन्दु अधिकारी, उद्धव प्याकुरेल, कन्चन झा, केशव दाहाल, कोमल भट्टराई, कृष्ण पौडेल, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, घिमिरे युवराज, झलक सुवेदी, दिपेश घिमिरे, निरज भारी, मुमाराम खनाल, रामराज रेग्मी, सञ्जीव सतगैया, सुरेश ढकाल, विनोद विक्रम केसी र युग पाठक रहेका छन्।
