कास्कीमा शुक्रबार साँझदेखि कर्फ्यू जारी

Share:

पोखरा। हालैका घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार साँझ एक आदेश जारी गर्दै वैशाख २७ गते साँझ ७:०० बजेदेखि वैशाख २८ गते बिहान ७:०० बजेसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएकी छिन्।

जिल्ला प्रशासन ऐन, २०१८ को दफा ६ बमोजिम पोखरा महानगरपालिकाको वडा नं. १ देखि ३३ सम्मका सम्पूर्ण क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने गरी कर्फ्यू लागू गरिएको हो।

प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, “हाल कास्की जिल्लामा देखिएका घटनाक्रमका कारण सम्भावित विरोध प्रदर्शन, तोडफोड तथा हुलदङ्गाले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने जोखिम देखिएकाले उक्त सम्भावनालाई नियन्त्रणमा लिन यो आदेश जारी गरिएको हो।”

कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ।

त्यस्तै, वैशाख २८ गते बिहान ७:०० बजेदेखि बिहान १०:०० बजेसम्म अत्यावश्यक कार्यका लागि सर्वसाधारणलाई आवतजावत गर्न अनुमति दिइनेछ। यस अवधिमा नागरिकहरूले अत्यावश्यक सेवा तथा कार्यका लागि तीन घण्टा स्वतन्त्र रूपमा आवाजाही गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: