
पोखरा । हालैको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गहिरो दुःख प्रकट गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आफ्नो स्टाटसमार्फत उनले दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूका लागि शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
विदेश यात्रा सकेर पोखरा फर्किएपछि मेयर आचार्यले लेखेका छन्, “देशले आफ्ना सपना बोकेका असंख्य आँखाहरू गुमाएको यो पीडामा मेरो मन असाध्यै भारी भएको छ।” उनले भ्रष्टाचारविरुद्ध उठेको आन्दोलनप्रति समर्थन जनाउँदै भने, “यो आन्दोलनको मूल भावना पवित्र छ, तर त्यसमा घुसपैठ गरी अराजकता फैलाउने असामाजिक तत्वहरूले यसको उद्देश्यलाई धुमिल बनाएका छन्।”
मेयर आचार्यले आन्दोलनका क्रममा पोखराका विभिन्न सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडलाई ‘बाहिरी तत्वहरूको षड्यन्त्र’को संज्ञा दिएका छन्। उनले दाबी गरे, “जनताको नजिकको सरकारका रूपमा रहेका कार्यालयहरूमा भएको विनाश आन्दोलनकारी युवाहरूले होइन, बाहिरी घुसपैठीहरूले योजनाबद्ध रूपमा गरेका हुन् भन्ने तथ्य प्रष्ट छ।”
प्रशासनले सम्पूर्ण क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिँदै उनले नागरिकलाई अत्यावश्यक सेवा निरन्तरता दिने विषयमा कार्यपालिका बैठकमार्फत निर्णय गरिने बताए। साथै, उनले सबै पोखरेलीलाई धैर्यपूर्वक साथ दिन अपिल गरेका छन्।
मेयर आचार्यका अनुसार, आन्दोलनको उग्र रुप लिँदा उनको निजी घरसमेत क्षतिग्रस्त भएको छ। “२० वर्षअघि निर्माण भएको मेरो निवास तोडफोडमा पर्यो। आन्दोलनलाई बदनाम गर्न खोज्ने केही तत्वहरूले यो काम गरेका हुन्,” उनले लेखेका छन्।
आफूमाथि लागेको अनैतिकता र भ्रष्टाचारका आरोपहरूलाई पूर्णतः अस्वीकार गर्दै उनले भने, “तीन वर्षको कार्यकालमा मैले कुनै पनि अनैतिक कार्य गरेको छैन। मेरो नाममा आउने मासिक सुविधा समेत सामाजिक कार्य र विद्यार्थी शिक्षादानमा खर्च हुँदै आएको छ। मेरो जीवन पोखरेलीहरूसामु सधैं खुला किताबझैं छ।”
‘सत्यलाई दबाउन सकिँदैन’
तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूप्रति आक्रोश व्यक्त गर्दै उनले लेखेका छन्, “जसले यो विनाशको योजना बनाए, तिनीहरूलाई यस्ता गलत बाटो र अनुचित कार्यमार्फत मात्र बाँचिरहन परोस् भन्ने प्रार्थना गर्न सक्छु।”
स्टाटसको अन्त्यमा उनले सत्य सधैं सत्यकै रूपमा रहन्छ भन्ने विश्वास व्यक्त गर्दै, कठिन घडीमा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गरेका छन्। उनले भावुक शब्दमा लेखेका छन्, “हामी सबैलाई थाहा छ-पृथ्वी गोलो छ।”
