
पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक आज पोखरामा बसेको छ। बैठक जनमत पार्टी (जेनजी) को आन्दोलनपछिको परिस्थितिबारे गम्भीर छलफल गर्न आयोजित भएको हो। बैठक कास्की काँग्रेसका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू गुरु बराल, शारदा पौडेल, जिल्ला पदाधिकारीहरू, प्रदेश, क्षेत्रीय तथा पालिका सभापतिहरूको उपस्थिति रहेको सह(सचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।
प्रवक्ता सिग्देलले भने, पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको छ। संविधानको रक्षाका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे तथा आवश्यक तयारीसम्बन्धी विषयमा विस्तृत रूपमा छलफल गरियो।
बैठकले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य तथा निवर्तमान परराष्ट्र मन्त्री डा. आरजु देउवा राणा माथि भएको सांघातिक आक्रमणको कडा निन्दा गरेको छ।
साथै उनीहरूका निवास तथा अन्य नेताहरूको सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको बैठकले जनाएको छ। घाइतेहरूका शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ।
बैठकले आन्दोलनका क्रममा दिवंगत भएका जनमत पार्टीका युवा, सर्वसाधारण र सुरक्षाकर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
पार्टी कार्यकर्ताहरूप्रति विचलित नहुन आग्रह गर्दै बैठकले सबैलाई संविधानको रक्षार्थ एकजुट हुन अपिल गरेको छ। बैठकपछि पार्टी कार्यालयदेखि वीपी चोकसम्म संविधान रक्षाका लागि प्रदर्शन समेत गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए।
