
पोखरा । हामी बनाउँछौं हाम्रो देश भन्ने मूल नारासहित लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा नयाँ सिसीटिभी क्यामेरा जडान गरेको छ।
गत भदौ २४ गतेको जेनेरेसन जेनजीको आन्दोलनका क्रममा कार्यालयमा रहेका सबै सिसीटिभी क्यामेरा जलेर नष्ट भएका थिए। सोही सन्दर्भमा, प्रहरीको सुरक्षा तथा कार्यसञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लबले शनिबार नयाँ सिसीटिभी जडानसँगै पुराना क्यामेराहरूको मर्मतसम्भार समेत गरेको हो।
लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले जानकारी दिँदै भने, “जिल्ला प्रहरी कार्यालय सबैका लागि सुरक्षा दिने संवेदनशील स्थान हो। त्यहाँ रहेका सिसीटिभी क्यामेरा आगलागीका कारण पूर्णरूपमा नष्ट भएकाले हामीले नयाँ क्यामेरा जडान गरेका हौं।”
कार्यक्रम संयोजक स्वयंभु कुँवरका अनुसार, हाल जिल्ला प्रहरी कार्यालयमा कुल १६ थान सिसीटिभी क्यामेरा जडान गरिएको छ, जसमध्ये ९ वटा नयाँ क्यामेरा हुन्। उनले थपे, “हामीले क्यामेरा जडानमात्र होइन, त्यसको मर्मतसम्भार पनि गर्नेछौं। आगामी दिनमा अन्य सहयोग पनि निरन्तर जारी रहनेछ।”
यसअघि पार्दी माविमा पनि क्लबले सिसीटिभी जडान गरिसकेको उल्लेख गर्दै अध्यक्ष गोम्जाले भने, “पोखरा-८ का केही सामुदायिक विद्यालयहरूमा सिसीटिभी जडान गर्ने योजना अनुसार अघि बढिरहेका थियौं।
तर, जेनेरेसन जेडको आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयलाई प्राथमिकतामा राखी सिसीटिभी जडान गरेका हौं।”



