
काठमाडौं। नेपालको इतिहासमा पहिलो पटक एक महिला महान्यायाधिवक्ताको रूपमा नियुक्त भएकी छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सिफारिस स्वीकृत गरेसँगै सविता नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्ने गौरव प्राप्त गर्न सफल भएकी हुन्।
न्यायिक पृष्ठभूमियाबाट सर्वोच्च पदमा
९२ वर्षीय कानुनी विज्ञ कृष्णप्रसाद भण्डारीकी छोरी सविता भण्डारी लामो समयदेखि कानुनी क्षेत्रमा क्रियाशील रहँदै आएकी छिन्। यसअघि महान्यायाधिवक्ताका रूपमा रहेका केशव बडालले राजीनामा दिएपछि भण्डारीलाई प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी हुन्। राष्ट्रपति पौडेलले बडालको राजीनामा स्वीकृत गरिसकेका छन्।
महान्यायाधिवक्ताको नियुक्तिसँगै प्रधानमन्त्री कार्कीले आजै पाँच जना मन्त्रीहरू नियुक्त गर्ने तयारी समेत अघि बढाएकी छन्। पदभार सम्हाल्ने वित्तिकै उनले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते नयाँ निर्वाचनको घोषणा गरिसकेकी छिन्।
प्रधानमन्त्री कार्कीको यो कदमले देशको राजनीतिक वातावरणमा नयाँ तरंग ल्याएको छ। ऐतिहासिक नियुक्ति र सशक्त कदमहरूबाट उनी नेतृत्वमा महिलाको उपस्थिति सशक्त बनाउन अघि बढेकी देखिन्छिन्।

