पोखरा महानगरपालिकाको सेवा असोज १ गतेदेखि पुनः सुरु हुने

Share:

पोखरा। जेनजी आन्दोलनका कारण पूर्णरूपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाको सेवा असोज १ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। आन्दोलनले पुर्‍याएको क्षति मूल्यांकन गर्दै, अक्षत संरचनाबाट सेवा सुचारु गर्ने निर्णय महानगरले गरेको हो।

५२औँ कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको एकीन विवरण संकलन गर्ने र सेवायोग्य ठाउँको व्यवस्थापन गरेर तत्कालीन सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

महानगरपालिकाका अनुसार क्षति पुगेका संरचनाहरूको लगत संकलन भइरहेको छ। जुन भवन, शाखा वा कार्यालयमा ठुलो क्षति छैन, ती स्थानबाट क्रमशः सेवा दिन थालिनेछ। सार्वजनिक सेवा निरन्तरता सुनिश्चित गर्न उपयुक्त ठाउँमा अस्थायी व्यवस्थापन समेत गरिने बताइएको छ।

मेयर विदेशमा

यसैबीच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हाल युएईमा रहेका छन्। उनी कास्की समाज यूएईद्वारा आयोजित कार्यक्रममा सहभागी हुन गएका हुन्। यद्यपि मेयर विदेशमा रहे पनि, प्रशासनिक नेतृत्वले आन्दोलनपछिको व्यवस्थापनलाई प्राथमिकता दिँदै सेवा पुनः सञ्चालनको तयारी तीव्र बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: