
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) अब आफ्नो राजनीति केवल सहरभित्र सीमित नराख्ने संकेत गर्दै नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा छन्। हालसम्म औपचारिक घोषणा नभए पनि उनका निकट स्रोतहरूले दल गठनको प्रक्रियामा अन्तिम सहमति भइसकेको जानकारी दिएका छन्।
संघीय चुनावमा सहभागिता र देशव्यापी उम्मेदवारी दिने योजनासहित बालेन अब प्रधानमन्त्री पदको अभ्यास छोड्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको वकालत गर्न थालेका छन्। उनी नेतृत्वको नयाँ दलले प्रत्यक्ष कार्यकारी प्रणालीलाई मुल एजेन्डा बनाउने र संविधान संशोधनमार्फत संरचनात्मक परिवर्तन गर्ने लक्ष्य लिएको बुझिएको छ।
जेनजी आन्दोलनबाट बढेको प्रभाव
हालैको जेनजी आन्दोलनमा देखिएको उनको सक्रियता र नेतृत्व शैलीले बालेनलाई राजनीतिक रूपमा थप बलियो बनाएको छ। जनस्तरमा उभिएको समर्थन र परिवर्तनको चाहनाले उनलाई नयाँ धारको राजनीतिमा अगाडि ल्याएको विश्लेषकहरू बताउँछन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनका सहयोगीहरूको प्रभावशाली उपस्थिति पनि बालेनको सशक्त राजनीतिक भविष्यको संकेतका रूपमा हेरिएको छ।
बालेनको नयाँ दलले आगामी निर्वाचनमा देशभर उम्मेदवारी दिने योजना बनाएको छ। उनले दुईतिहाइ जनताको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। यस्तो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ र अन्य वैकल्पिक शक्ति बन्ने प्रयासरत दलहरूमा दबाब पर्ने अनुमान गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, बालेनको दल मैदानमा उत्रिएमा नेपाली राजनीतिमा ठूलो धक्का लाग्नेछ। स्थानीय तहबाट उठेको स्वतन्त्र नेतृत्व संघीय संरचनामा प्रवेश गर्दा पुराना दलहरूका लागि चुनौती थपिनेछ।
