
पोखरा । नियात्राकार तिलक प्रसाद पुन ‘पुर्जा’ नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा चयन भएका छन्। समाजको रिक्त केन्द्रीय सदस्य पदमा पोखराबाट प्रतिनिधित्व गर्दै पुर्जालाई मनोनयन गरिएको हो। भदौ तेस्रो साता काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले उनलाई सर्वसम्मत निर्णयसहित मनोनयन गरेको जानकारी दिइएको छ। पुर्जाका पाँच कृतिहरू प्रकाशित छन्।
तीमध्ये ‘वस्तिभित्र’ र ‘साइनो’ नियात्रा संग्रह हुन् भने ‘लोकलहरी’ (संयुक्त सम्पादन), ‘लोक संस्कृतिका सुसेलीहरू’ तथा ‘नेपाली सुरकर्मी र सिर्जना’ उनका अन्य प्रकाशित कृतिहरू हुन्। करिब तीन दशकदेखि पोखरामा रहेर पत्रकारिता, रिपोर्टिङ र स्तम्भ लेखनमा सक्रिय पुर्जा कलासंस्कृति, साहित्य, इतिहास, समाजशास्त्र, पर्यटन, जैविक विविधता, वातावरण, भ्रमण, फोटोग्राफी र समाजसेवामा समेत गहिरो रुचि राख्छन्। उनका कृतिहरूमा ग्रामीण जनजीवनको सजीव चित्रण पाइन्छ।
पछिल्लो समय नियात्रा विधा नेपाली साहित्यको एक लोकप्रिय विधाका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनले भने, “नेपालीहरूमा घुम्ने संस्कृति विस्तार भइरहेको छ, घुमाइपछिका अनुभूतिहरूलाई अभिव्यक्त गर्न नियात्रा साहित्य प्रभावकारी माध्यम बनिरहेको छ।” गौरतलब छ, नेपालका ख्यातनाम साहित्यकारहरूको पहलमा वि.सं. २०७२ मा नियात्रा समाज नेपाल को स्थापना गरिएको हो।
