जेनजी आन्दोलनमा देशभरि त्रास, ७४ को मृत्यु, प्रहरीका ४४५ भवन ध्वस्त, ११०० हतियार लुटिए

Share:

काठमाडौं । भ्रष्टाचार, सामाजिक अन्याय र सत्ताको दुरुपयोगविरुद्ध सुरू भएको जेनजी आन्दोलनले मुलुकमा इतिहासकै ठूलो मानवीय र भौतिक क्षति निम्त्याएको छ । प्रदर्शनको दोस्रो दिन अर्थात् २४ भदौमा आन्दोलन अत्यन्तै हिंसात्मक बनेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको भिडन्तले देशैभर त्रासको अवस्था सिर्जना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाले पनि जनआक्रोश मत्थर गर्न सकेन । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचारको आक्रोश र राजनीतिक असन्तोषको विस्फोटका रूपमा सुरू भएको यो आन्दोलन अहिले पनि थामिएको छैन ।

२४ घण्टामा २१ जनाको ज्यान गयो

२४ भदौको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट २१ जना प्रदर्शनकारीले ज्यान गुमाए भने, राजधानीदेखि जिल्लासम्मका प्रहरी कार्यालयहरूमा भीषण तोडफोड र आगजनी भयो । राति १० बजेसम्म निरन्तर चलेको हिंसामा देशभरि ४४५ प्रहरी कार्यालयमा क्षति पुगेको छ। तीमध्ये १९७ कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् । काठमाडौं उपत्यकामा मात्रै १५३ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको छ । रानीपोखरीस्थित प्रहरी प्रमुखको कार्यालयसमेत सुरक्षित रहन सकेन। १८ वटामध्ये १७ वटा प्रहरी वृत्त क्षतिग्रस्त छन् ।

प्रहरीले फुकाले बर्दी 

प्रहरीमाथिको आक्रमण यति तीव्र भयो कि केहीले ज्यान जोगाउन बर्दी फुकालेर भाग्नुपर्ने अवस्था आयो । केही प्रहरीहरू आत्मसमर्पण गर्नसम्म बाध्य भए। राति १० बजेपछि नेपाली सेनाले कमान्ड लिँएपछि मात्र स्थिति केही नियन्त्रणमा आएको थियो । आन्दोलनकारीहरूले प्रहरी कार्यालयमा तोडफोडसँगै हतियार समेत लुटे । सामाजिक सञ्जालमा प्रदर्शनकारीहरूलाई प्रहरीका हतियार बोकेको अवस्थामा देखिने तस्बिर र भिडियो सार्वजनिक भइरहेका छन् । प्रहरीका अनुसार ११०० थान हतियार लुटिएको छ। तीमध्ये करिब ३०० थान हतियार सेनाले फिर्ता गरेको हो ।

मानवीय क्षतिः १९ सय ६३ प्रहरी घाइते, ३ को मृत्यु

प्रहरी प्रधान कार्यालयका अनुसार आन्दोलनका क्रममा १ हजार ९६३ प्रहरी घाइते भएका छन्। तीमध्ये २४ जना अहिले पनि अस्पतालमा उपचाररत छन् । तीन जना प्रहरीको ज्यान गएको पुष्टि भएको छ, असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका हुन्।

७४ को मृत्यु, लुट, आगजनी र तोडफोड अझैपनि जारी

हालसम्मको तथ्यांक अनुसार प्रहरी र प्रदर्शनकारी दुवै पक्ष गरी कुल ७४ जनाको मृत्यु भइसकेको छ । प्रहरी कार्यालयहरूमा भएका सवारी साधनहरू जलेका छन्, केही चोरीमा परेको आशंका छ । सुरक्षाकर्मीको गोली, अश्रुग्यास, लुटिएको गोली तथा हातहतियारको हिसाब किताब अझै पूरा भइसकेको छैन । यस आन्दोलनले नेपालको सुरक्षा संयन्त्र र राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ। यसअघि सशस्त्र विद्रोह, आन्दोलन तथा विपद् व्यवस्थापनमा देखिएको संरचनागत कमजोरी फेरि उजागर भएको छ । अहिले पनि देशका विभिन्न स्थानहरूमा प्रदर्शनहरू जारी छन्। सरकारले स्थिति नियन्त्रणमा लिनका लागि सेना परिचालन गरे पनि जनआक्रोश रोकिएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: