
सुडानको डार्फर क्षेत्रको एल-फासेर शहरस्थित एक मस्जिदमा भएको ड्रोन आक्रमणमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ। बीबीसीलाई उद्धृत गर्दै चिकित्सक स्रोतले करिब २० जना घाइते भएको जानकारी दिएका छन्।
शुक्रबार बिहान प्रार्थनाको समयमा भएको आक्रमणका लागि अर्धसैनिक समूह ‘र्यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) लाई दोष लगाइएको छ, तर समूहले जिम्मेवारी लिएको छैन। सुडानमा दुई वर्षभन्दा लामो समयदेखि सेनामाथि आरएसएफले तीव्र आक्रमण गरिरहेको छ। हालै आरएसएफले एल-फासेर कब्जा गर्न आक्रमण तीव्र पारेको छ। यो शहर डार्फरमा सेनाको अन्तिम गढ मानिन्छ र करिब ३ लाख भन्दा बढी सर्वसाधारण युद्धबिच फँसेका छन्।
स्थानीयले बीबीसीलाई दिएको जानकारीअनुसार ड्रोनले मस्जिदमै प्रहार गर्दा प्रार्थनामा सहभागी धेरैजनाको घटनास्थलमा नै मृत्यु भयो। उद्धारकर्मीले अझै पनि भग्नावशेषबाट शव निकाल्ने काम जारी राखेका छन्। बीबीसीले प्रमाणीकरण गरेको भिडियोमा करिब ३० वटा शव मस्जिद नजिकै देखिन्छ।
यसै हप्ता आरएसएफले शहर नजिकैको अबु-शुक विस्थापित शिविरमाथि पनि आक्रमण गरेको रिपोर्ट छ। येल विश्वविद्यालयको ह्युमनिटेरियन रिसर्च ल्याबले स्याटेलाइट तस्वीरका आधारमा आरएसएफले शिविरको धेरैजसो भाग नियन्त्रणमा लिएको जनाएको छ। आरएसएफले संयुक्त सेनाको मुख्यालय रहेको पूर्व संयुक्त राष्ट्रसंघ कम्पाउन्डभित्र प्रवेश गरेको प्रमाणित भिडियोसमेत सार्वजनिक भएको छ। यो मुख्यालयलाई सहरको सुरक्षा संरचनाको महत्त्वपूर्ण अङ्ग मानिन्छ।
