
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकामा भएको जेनजी आन्दोलनको क्रममा २७ प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको पुष्टि भएको छ। आन्दोलन चरम पुगेको भदौ २४ गते, आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कास्की नियन्त्रणमा लिई आगजनी र तोडफोड गरेका थिए।
त्यसदिनकै घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, प्रहरी चौकी छोरेपाटन, बगर, गगनगौंडालगायत विभिन्न बिट र आइलेनहरूमा समेत व्यापक क्षति पुर्याइएको थियो। कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार, घटनापछि सबै प्रहरी कार्यालयमा प्रहरी फिर्ता भइसकेका छन्।
उनले भने, “पुनःस्थापित हुने क्रममा छौं। अहिले सबै कार्यालयमा प्रहरीहरू ड्युटीमा पुगिसकेका छन्। स्थानीय समुदायले समेत पुनर्निर्माणमा सहयोग गरिरहेका छन्।” पालिकामा रहेका केही प्रहरी चौकीहरू भने सुरक्षित रहेको र त्यहाँ क्षति नभएको जानकारी दिइएको छ।
पोखरा महानगरभित्रकामा वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार र इलाका प्रहरी कार्यालय शिशुवामा भने कुनै क्षति नभएको एसपी ओलियाले जानकारी दिए।
३५ प्रहरी घाइते
जेनजी आन्दोलनका क्रममा ३५ जना प्रहरी घाइते भएका थिए। एसपी ओलियाका अनुसार, सबै घाइते प्रहरीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्। त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट भदौ २४ गते ६१ जना थुनुवा निस्किएका थिए।
प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले भने, “हालसम्म हिरासत खाली छ। राख्न सक्ने अवस्था छैन। केही थुनुवा सम्पर्कमा आएका छन्, तीविरुद्धका फाइल अदालतमा पठाइनेछ।”
आन्दोलनका क्रममा कास्की प्रहरीले प्रयोग गर्दै आएको चारवटा सवारी साधन (चारपाङ्ग्रे) जलेका छन्।
त्यस्तै, केही मोटरसाइकलहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन्। एसपी ओलियाले केही हतियार हराएको पुष्टि गर्दै ती हतियारको खोजी जारी रहेको जानकारी दिएका छन्।
‘जेनजी आन्दोलन’ले पोखरामा छोटो समयमै ठूलो प्रभाव पारेको थियो। प्रहरी संयन्त्रमा क्षति मात्र नभई सुरक्षा संयन्त्रको पुनःस्थापनाका लागि ठूलो चुनौती खडा भएको देखिएको छ।
