
पोखरा । पोखरा पर्यटन परिषद्ले नेपालको पर्यटन क्षेत्र पुनर्जीवनका लागि आवश्यक पहल गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई आग्रह गरेको छ। परिषद्का अध्यक्ष तारानाथ पहारीको नेतृत्वमा रहेको सात सदस्यीय प्रतिनिधिमण्डलले आज काठमाडौंमा गभर्नरलाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन उद्योगमा हाल उत्पन्न समस्याहरू समाधानका लागि तत्काळ कदम चाल्न अनुरोध गरेको हो।
प्रतिनिधिमण्डलमा अध्यक्ष पहारीसँगै परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, रेवानका पूर्व अध्यक्ष नरेशबहादुर भट्टराई, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, र नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल सहभागी थिए।
परिषद्को ध्यानाकर्षणपत्रमा उल्लेख गरिएअनुसार हाल देशभर भइरहेको राजनैतिक अस्थिरता, आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाहरूले पर्यटन व्यवसायमा गम्भीर असर पारेको छ। मुख्य सिजनको सुरुवातमै पर्यटकहरूले भ्रमण प्याकेज र बुकिङ रद्द गर्न थालेका छन्, जसले पोखराको पर्यटन उद्योग शून्यमा झरेको परिषद्को भनाइ छ।
परिषद्ले विगतका विपत्तिहरू जस्तै भूकम्प र कोभिड-१९ पछि सरकारले विभिन्न राहत प्याकेजहरू ल्याएको स्मरण गराउँदै, अहिलेको परिस्थितिमा पनि पर्यटन उद्योगलाई जोगाउन विशेष प्याकेज र सहुलियत आवश्यक भएको बताएको छ।
क्षतिपूर्तिको व्यवस्था -आन्दोलनका क्रममा पर्यटन व्यवसायमा भएको क्षतिको उचित क्षतिपूर्ति प्रदान गर्न, कर्जा किस्ता भुक्तानी समयावधि विस्तार असोज, पुस र चैत मसान्तसम्म कर्जा र व्याज भुक्तानी असम्भव भएकाले बिना जरिवाना अवधि थप गर्न, अपररेटिङ लागतका लागि विशेष कर्जा – आगामी ६ महिनासम्म पर्यटक आगमन नहुने प्रक्षेपणसहित व्यवसाय सञ्चालन खर्चका लागि छोटो अवधिको विशेष कर्जा उपलब्ध गराउन, कर्जाको पुनसंरचना र पुनर्तालीकीकरण – पर्यटन व्यवसायका कर्जाको अवधि कम्तीमा २५ वर्षसम्म पुर्याउन, रि-फाइनान्सिङ सुविधा – पर्यटन कर्जामा सहज रि(फाइनान्सिङको व्यवस्था गर्न, शून्य व्याजदरमा व्यवसाय जीवनरक्षा कर्जा – साना तथा मझौला पर्यटन व्यवसायीलाई पाँच वर्षसम्म १५ लाखसम्म शून्य व्याजमा कर्जा दिन, सहुलियतपूर्ण व्याजदर – पर्यटन क्षेत्रका कर्जामा अझ न्यून दरमा व्याज उपलब्ध गराउने व्यवस्था गर्न, पर्यटनलाई उद्योगसरहको मान्यता कार्यान्वयन – चालु आर्थिक वर्षको बजेटमा घोषणा भए अनुसार पर्यटन व्यवसायलाई औद्योगिक क्षेत्रसरह सुविधा दिने व्यवस्था यथाशीघ्र लागू गर्न र परिषद्ले पर्यटन उद्योग नेपालकै एक मात्र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भएको उल्लेख गर्दै यसको पुनःजागरणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएको छ।
यसैक्रममा, प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन पुनउत्थानका विषयमा विस्तृत छलफल गरेको अध्यक्ष पहारीले जानकारी दिए।
