
पोखरा। पामे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। संस्थाले शनिबार पोखरा-२४, पामे बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको हो। अभियान अन्तर्गत बजार क्षेत्रमा रहेका प्लास्टिकजन्य फोहर, बोतल, झाडी आदि हटाइ सरसफाइ गरिएको सहकारीका व्यवस्थापक सुर्यमोहन पराजुलीले जानकारी दिए।
उनले भने, “पामे बजारको फोहोर सिधै फेवातालमा पुग्ने भएकाले वातावरणीय सन्तुलनका लागि हाम्रा सरसफाइ अभियान नियमित रूपमा भइरहेका छन्। सहकारीले प्रत्येक वर्ष यस्ता अभियान सञ्चालन गर्दै आएको छ।”
आइतबार संस्थाले पोखरा-२३ माझथुमस्थित सिद्धबराह तपोवन आश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग उपलब्ध गराएको छ। साथै, आश्रममा रहेका बटुकहरूलाई भोजन र दक्षिणा समेत प्रदान गरिएको संस्थाका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए।
उनले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै भने, “पामे सहकारीले सहकारीको मूल सिद्धान्तलाई पालन गर्दै पारदर्शी ढंगले सञ्चालन गरिआएको छ, जसका कारण संस्थामा हालसम्म कुनै समस्या देखिएको छैन।” संस्थाको १५औं वार्षिक साधारण सभा आगामी सोमबार (असोज ६ गते) पोखरा–२४, पामेमा आयोजना गरिने छ।
