
पोखरा । जेनजी आन्दोलनको प्रभावका कारण गम्भीर नकारात्मक असर खेपिरहेको पोखरेली पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा यहाँका व्यवसायीहरू सक्रिय भएका छन्। पर्यटन व्यवसायलाई जोगाउन पोखराका प्रमुख व्यवसायिक संघसंस्थाहरूले सरकारसमक्ष आफ्नो माग र सुझावहरू राख्न थालेका छन्।
यसैक्रममा, होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई भेटी आफ्नो गुनासो सुनाएको हो।
अध्यक्ष सुवेदीका अनुसार, गभर्नर पौडेलसँगको भेटमा टोलीले मुख्य पर्यटन सिजनको संघारमै यस्तो ठूलो संकट निम्तिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै तत्काल राहत र सहुलियत नआए पर्यटन व्यवसाय धराशायी हुने चेतावनी दिएको थियो।
“हालको अवस्थामा पर्यटन तत्काल पुनरुत्थान हुने अवस्थामा छैन,” सुवेदीले भने , “त्यसैले मौद्रिक नीतिबाटै व्यवसायीका समस्या सम्बोधन गर्नुपर्ने आवश्यकता छ।”
व्यवसायीहरूले भौतिक रूपमा क्षति पुगेका संरचनाको क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन माग गर्दै, बैंक तथा वित्तीय संस्थामा चालु ऋणको किस्ता कम्तीमा ६ महिनाका लागि स्थगन गर्न र ऋण पुनर्संरचना गर्नुपर्ने माग राखेका छन्। साथै, दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्न सस्तो ब्याजदरमा सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि व्यवसायीले औंल्याएका छन्।
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीसँगको भेटमा व्यवसायीहरूले पर्यटन पुनरुत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्न र देश तथा विदेशमा व्यापक प्रवर्द्धन अभियान सञ्चालन गर्न आग्रह गरेका थिए।
टोलीमा पोखराका विभिन्न प्रमुख पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए। व्यवसायीहरू निकट भविष्यमा अर्थमन्त्री रामेश्वर खनालसँग पनि भेट गरी आफ्ना मागहरू राख्ने तयारीमा छन्।
२५ अर्ब रुपैयाँ बराबरको क्षति
यसअघि होटल संघ नेपाल (हान) ले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण देशभर करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको तथ्यांक सार्वजनिक गरिसकेको छ। पोखरामा पनि ठूलो मात्रामा बुकिङ रद्द भएका छन्, जसले पर्यटन व्यवसाय थप संकटमा पारेको व्यवसायीहरूको भनाइ छ।
