पोखरामा नेपाल परिवार नियोजन संघ कास्कीद्वारा भिडियो एक्सरे सेवा सुरु

Share:

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले आधुनिक स्वास्थ्य सेवामा थप एक कदम अघि बढ्दै भिडियो एक्सरे (यूएसजी) सेवा औपचारिक रूपमा सुरु गरेको छ। संघको पोखरा-१२, उपकार मार्गस्थित कार्यालयमा आयोजित एक समारोहका बीच संघका सभापति नवीन सिग्देलले उक्त सेवा शुभारम्भ गरे।

“सेवाग्राहीको हितलाई ध्यानमा राख्दै यो अत्यावश्यक सेवा सुरु गरिएको हो। अबदेखि सामान्य स्वास्थ्य परीक्षणका लागि अन्यत्र रिफर गर्नुपर्ने झन्झट हट्नेछ।”  उनले गुणस्तरीय सेवा प्रदान गर्नु संघको प्रमुख प्राथमिकता भएको स्पष्ट गरे। सेवाको सञ्चालन गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको हो भन्ने जानकारी संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले दिए।

भिडियो एक्सरे सेवामा अनुभवी चिकित्सक, गण्डकी मेडिकल कलेजको रेडियोलोजी विभागका प्रमुख सह-प्राध्यापक डा. केशव शर्माको नेतृत्व रहनेछ।

नेपाल परिवार नियोजन संघ कास्कीले हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व सेवा, यौनजन्य रोगको परामर्श तथा उपचार, एचआईभी परीक्षण तथा परामर्श, पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण, लैंगिक हिंसामा परेका व्यक्तिहरूलाई परामर्श तथा उपचार सेवासहित यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित सबै सेवा प्रदान गर्दै आएको छ। साथै, प्रयोगशालासम्बन्धी सेवा पनि शाखाबाट नियमित रूपमा उपलब्ध गराइँदै आएको संघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: