
काठमाडौं : वर्षमा एक दिन, महानवमीको अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिने काठमाडौंको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी, अर्थात् दशैंको नवौं दिन महानवमी को दिनमा मात्र आमनागरिकका लागि खोलिने तलेजु मन्दिर बिहानैदेखि दर्शनार्थीहरूले भरिएको छ। भक्तजनहरू मध्यरातदेखि नै लाममा बसेका छन् भने लाइन नयाँ सडकको जुद्ध शालिक हुँदै विभिन्न गल्लीहरूमा फैलिएको देखिन्छ।
तलेजु भवानीको पूजा तथा दर्शन गर्नका लागि राजधानीलगायत देशभरबाट भक्तजनहरू काठमाडौं आइपुगेका छन्। मन्दिरको आन्तरिक भागमा प्रवेशका लागि विशेष व्यवस्था मिलाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
लाखौं भक्तजनहरू आज तलेजु मन्दिरमा पूजाआराधना र दर्शनका लागि पुग्ने अपेक्षा गरिएको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यो मन्दिर वर्षको बाँकी दिनहरूमा सर्वसाधारणका लागि बन्द रहन्छ।
