
काठमाडौं : दशैँको चहलपहल सुरु भएसँगै संघीय राजधानी काठमाडौंबाट ठूलो संख्यामा नागरिकहरू बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म कुल ५ लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका छन्।
यात्रुको चाप बढेसँगै सवारी नाकाहरूमा भीड देखिन थालेको छ भने पार्किङस्थलहरूमा पनि भिड व्यवस्थापन गर्न ट्राफिक प्रहरी थप परिचालन गरिएको छ। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै विशेष व्यवस्था गरिएको छ।
२४ सै घण्टा ट्राफिक प्रहरी सक्रिय
एसएसपी अधिकारीले भने, “यात्रुको सहज यात्रा सुनिश्चित गर्न हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली सक्रिय रूपमा परिचालन गरिएको छ। ट्राफिक प्रहरी २४ सै घण्टा सडकमा खटिएको छ।”
उपत्यकाबाट बाहिरिनेको संख्या बढिरहेका बेला, दशैँ मनाउन बाहिरबाट काठमाडौं आउने यात्रुहरू पनि उल्लेख्य छन्। प्रहरी कार्यालयका अनुसार सोही अवधिमा उपत्यकामा ७२ हजार ४१ सवारीसाधनमार्फत २ लाख ८५ हजार ३०८ जना मानिस प्रवेश गरेका छन्।
सुरक्षा र ट्राफिक व्यवस्थापन कडाइका साथ
दशैँको भीडलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यकामा ट्राफिक नियम पालना गराउने, दुर्घटना न्यूनीकरण गर्ने, अवैध भाडा असुलीमा निगरानी गर्ने लगायतका काममा ट्राफिक प्रहरी सक्रिय रहेको जनाइएको छ।
प्रहरीले यात्रुहरूलाई टिकट काट्दा सतर्क रहन, अनधिकृत र अतिरिक्त भाडा तिर्न नपर्ने अधिकारबारे जानकार रहन पनि आग्रह गरेको छ।
