
काठमाडौं : दशैँको मुख्य दिन विजयादशमीका अवसरमा देशभर उल्लासमय माहोल चलिरहेको बेला मौसम भने स्थिर नरहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको दशैँ अवधिभर मनसुनी वायुको प्रभाव सक्रिय रहने र देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद् डेबिड ढकालका अनुसार आज कोशी, मधेश र गण्डकी प्रदेशमा दिनभर भारी वर्षा हुन सक्ने देखिएको छ। त्यस्तै बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम खालको वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा बिहानदेखिको वर्षा रोकिने भए पनि अपरान्हपछि पुनः मध्यम वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गएराति कोशी, मधेश र गण्डकी प्रदेशका अधिकांश स्थानमा व्यापक वर्षा भएको छ। विशेष गरी नवलपरासी र तनहुँमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
बाढीको खतरा बढ्यो, रेड अलर्ट जारी
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले पनि केही महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। महाशाखाका अनुसार भोलिदेखि असोज २० गतेसम्म नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक खोलानालाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ। केही स्थानमा बहाव खतरा तह आसपास पुग्न सक्ने जोखिम रहेको चेतावनी दिइएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बहने सानातिना खोलानालामा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ।
महाशाखाले असोज १७ देखि २० गतेसम्मका लागि रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लालाई ‘रेड अलर्ट’ जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई सम्भावित जोखिमबाट सचेत रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।
दशैँको बेला सडक तथा पुलहरूमा चाप बढ्ने भएकाले यस्तो मौसमी अवस्थाले यात्रुहरूलाई थप कठिनाइ हुनसक्ने देखिन्छ।
