कास्की प्रशासनको सतर्कता आग्रह : असोज १७ देखि २० सम्म पदयात्रा नगर्न अनुरोध

Share:

कास्की  : आगामी चार दिनसम्मको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै कास्की जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई असोज १७ देखि २० गतेसम्म पदयात्रामा नजान आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले यस अवधिमा देशभर विशेषगरी हिमाली र पहाडी क्षेत्रमा भारी वर्षा, हिमपात, डुबान, भूक्षय र पहिरोको उच्च जोखिम रहेको जनाएको छ। सोही आधारमा सम्भावित प्राकृतिक विपद्‌बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न प्रशासनले सतर्कता अपनाउन सबैमा आह्वान गरेको हो।

प्रशासनले विशेषगरी अन्नपूर्ण, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, ताङतिङ लगायतका पर्यटकीय तथा पदयात्रा गन्तव्यहरूमा पदयात्रा नगर्न अनुरोध गरेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले जिउज्यानको सुरक्षालाई ख्याल गर्दै यात्रा टार्न भनिएको छ।

यात्रा गर्नै परेमा जल तथा मौसम विज्ञान विभागबाट जारी आधिकारिक सूचनाहरू पालना गर्न, तथा अत्यावश्यक काम बाहेक रातको समयमा यात्रा नगर्न समेत सुझाव दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: