
काठमाडौं : देशभर जारी अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने सबै आन्तरिक उडानहरू स्थगित गरिएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार लगातार वर्षाले उडान सञ्चालनमा जोखिम बढेपछि आन्तरिक उडानहरू स्थगन गरिएको हो।
“मौसमी अवस्थाको पुनरवलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू भने सञ्चालन भइरहेका छन्,” महाप्रबन्धक पाण्डेले भने।
खराब मौसमका कारण काठमाडौंका अतिरिक्त भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा पनि उडानहरू प्रभावित भएका छन्।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिएको छ। विभागका अनुसार रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान छ।
देशका विभिन्न स्थानमा अविरल वर्षा जारी रहेकाले हवाई सेवा प्रभावित हुनुका साथै अन्य क्षेत्रहरूमा समेत सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
