
काठमाडौं : देशभर भइरहेको लगातारको वर्षाले अवरुद्ध बनाएका विभिन्न राजमार्गहरू क्रमशः सञ्चालनमा आउन थालेका छन्। सडक विभागका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल तथा मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा सञ्चालनमा आइसकेका छन्।
त्यस्तै, सिद्धार्थ राजमार्ग, कालीगण्डकी कोरिडोर (डेधगाउँदेखि गैडाकोट) र धरान–धनकुटा सडक पनि अब सञ्चालनमा आएका छन्। त्रिभुवन राजमार्ग, लेघुवाघाट–भोजपुर सडक, हिले–पाख्रिबास–लेगुवा सडक भने हाल एकतर्फी सञ्चालनमा रहेका छन्।
हेटौँडा–कुलेखानी–फाखेल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ भने हेटौँडा–पालुङ–नौबिसे सडक पूर्णरूपमा सञ्चालनमा आइसकेको छ। तर, हेटौँडा–काठमाडौं जोड्ने अर्को मार्ग फर्पिङ–भैँसे सडक सिस्नेरी बजार क्षेत्रमा नदीले सडक बगाएपछि अवरुद्ध छ। यो सडक खुलाउन अझै केही समय लाग्ने बताइएको छ।
सुख्खा पहिरोले अवरुद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक खुलाइसकिएको छ। तर, कान्ति लोकपथअन्तर्गत घट्टे पक्खामा पहिरो पन्छाउने कार्य जारी रहेकाले सडक सञ्चालनमा आउन सकेको छैन।
हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मेची राजमार्गका विभिन्न भाग अझै अवरुद्ध छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मेची राजमार्गको माई खोलामा बाढीले सडक बगाएपछि सञ्चालनमा ल्याउन ३–४ दिन लाग्नेछ। जोरकालासदेखि माई खोलासम्मको सडक नभत्किए पनि बाढीको कारण आवागमन अवरुद्ध भएको हो।
बिब्ल्याँटे–राक्से खण्डमा दुईतर्फी सडक पूर्ण रूपमा बन्द छ भने साखेजुङ क्षेत्रमा पुवाखोलानजिकैको सडक बगेको छ। यद्यपि राक्से–सुकेटार खण्डको सडक यथावत् रहेको छ।
काभ्रेको रोशी खोलामा आएको बाढीले बिपी राजमार्गअन्तर्गत चौकीडाँडादेखि नेपालथोक खण्डसम्म १७ स्थानमा करिब साढे चार किलोमिटर सडक बगाएको छ। बिपी राजमार्ग ठप्प भएपछि पूर्वबाट काठमाडौं आउने गाडीहरूलाई पुष्पलाल लोकमार्ग हुँदै गन्तव्यतर्फ पठाइएको छ।
