
काठमाडौं । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ सूचना जारी गर्दै मनसुन देशभरबाट अन्त्य भएको जानकारी दिएको हो।
यससँगै नेपालमा औपचारिक रूपमा बर्खायामको समाप्ति भएको छ र पोस्ट-मनसुन सिजन सुरु भएको मौसमविद्हरूले बताएका छन्। मौसमविद्का अनुसार पोस्ट-मनसुन सिजन भनेको मौसम क्रमशः हिउँदयामतर्फ ढल्कन थाल्ने समय हो। यो सिजन अक्टोबरदेखि नोभेम्बरसम्म कायम रहनेछ।
यस वर्ष मनसुन सामान्य मिति (जुन १३) भन्दा १५ दिनअघि, अर्थात् मे २९ मा नेपाल प्रवेश गरेको थियो। यद्यपि, बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यसपालि ८ दिन ढिला भई असोज २४ (अक्टोबर १०) मा मात्रै मनसुन देशभरबाट बाहिरिएको हो।
केही दिनअघि मात्रै मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पश्चिमी क्षेत्रबाट मात्रै हटेको थियो। आजको सूचना अनुसार अब देशभरबाट पूर्ण रूपमा हटेको छ।
अब आउने दिनहरूमा मौसम क्रमशः चिसिँदै जानेछ। डिसेम्बरदेखि फागुनसम्म ‘विन्टर सिजन’ अर्थात् हिउँदयाम रहन्छ भने त्यसपछि मार्चदेखि मेसम्म ‘प्री-मनसुन’ सिजन सुरु हुनेछ।
