
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफललाई लिएर उत्पन्न विवादपछि शीतल निवास परिसरमा एक्कासी तनावपूर्ण स्थिति सिर्जना भएको छ। छलफलको प्रतिनिधित्वलाई लिएर असन्तुष्टि जनाउँदै जेनजी समुदायका प्रतिनिधिहरू शनिबार शीतल निवास बाहिर उत्रिएर नाराबाजीमा उत्रिएपछि सुरक्षामा कडाइ गरिएको हो।
राष्ट्रपतिसँग आज (शनिबार) हुने भनिएको छलफल अन्ततः स्थगित गरिएको छ। राष्ट्रपति कार्यालयका अनुसार अब छलफल आउँदो सोमबार दिउँसो ३ बजेका लागि सारिएको छ। स्थिति नियन्त्रणमा लिन शीतल निवास परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रवेश प्रक्रियामा पनि कडाइ गरिएको छ।
जेनजी समुदायको प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा आन्तरिक विवाद चुलिएपछि आन्दोलन उग्र भएको बताइएको छ। नाराबाजीमा उत्रेका जेनजी प्रतिनिधिहरूले पारदर्शी वार्ता प्रक्रिया र समान प्रतिनिधित्वको माग गरेका छन्।
यस घटनाले समावेशी संवाद र समुदायसँगको विश्वासको सवालमा गम्भीर बहसको खाँचो देखाएको छ। सोमबारको छलफलले अहिले उत्पन्न तनाव कम गर्न सक्ने अपेक्षा गरिएको छ।
