पोखरामा विकास नेपालको २१ औं वार्षिक साधारण सभा सम्पन्न

Share:

पोखरा। विकास नेपालको २१ औं वार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ। सो सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १५ का वडाअध्यक्ष तोरण बहादुर बानियाँले स्थानीय सरकारको पहुँच सबै नागरिकसम्म पुर्याउन गैह्रसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताए।

उनले समाजको विकासका लागि हरेक क्षेत्रमा इमान्दारिता र कर्मशीलता अपरिहार्य रहेको धारणा व्यक्त गरे। कार्यक्रममा संस्थाका सल्लाहकार रमेश पौडेलले सरकारको ध्यान नपुगेका दुर्गम क्षेत्रहरूमा पनि गैह्रसरकारी संस्थाहरूले पुगेर महत्वपूर्ण कार्य गरिरहेको बताए।

गैह्रसरकारी संस्था महासंघ गण्डकी प्रदेशका इञ्चार्ज गोपाल खड्काले गैह्रसरकारी संस्थाहरूले सरकारसँग समन्वय गरी अगाडि बढेमा अन्तर्राष्ट्रिय दातृ निकायहरू पनि सहकार्यका लागि इच्छुक हुने जानकारी दिए।

संस्थाले अपाङ्गता र कुष्ठरोगको क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै निवर्तमान अध्यक्ष बुद्धि बहादुर थापाले आगामी दिनमा अझ प्रभावकारी ढंगबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।

साधारण सभामा संस्थाका सचिव बुद्धि बल रम्तेलले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०८२/०८३ को प्रस्तावित वार्षिक योजना प्रस्तुत गरेका थिए।

त्यसैगरी, संस्थाका कोषाध्यक्ष शंकर पन्थले आर्थिक वर्ष ०८१/०८२ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष ०८२/०८३ को प्रस्तावित वार्षिक बजेट प्रस्तुत गरेका थिए।

संस्थाका अध्यक्ष गणेश पाख्रीनको अध्यक्षतामा सम्पन्न उक्त सभामा उपाध्यक्ष विमला कुमारी केसीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार, सदस्यहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस सभाले विकास नेपालको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

कमेन्ट गर्नुहोस्
Share: