एकैदिन तीन हजार भक्तजनले गरे पाथीभरा दर्शन

Share:

काठमाडौं। मङ्गलबार एकैदिन करिव तीन हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । यसपटकको सिजन (मौसम) मा हालसम्मकै बढी सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

वर्षमा दुई सिजन (मौसम) दसैँ तिहार र चैते दसैँ रामनवमीको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ । हरेक वर्ष पाथीभरा दर्शन गर्ने दुई मुख्य सिजनमध्ये अहिले दसैँ तिहारको समयमा मङ्गलबार हालसम्मकै बढी दुई हजार ८१४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

मङ्गलबार पाथीभरा दर्शन गर्ने भक्तजनको सङ्ख्या यसपटकको सबैभन्दा बढी सङ्ख्या भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए। हाङ्बाङका अनुसार मङ्गलबार बिहान सबेरैदेखि पाथीभरामा भक्तजनको भिड लागेको थियो । भिडका कारण लाइनमा बसेका भक्तजनले पाथीभराको दर्शन तथा पूजा गर्नलाई केही बढी समय पर्खनुपरेको उनले बताए ।

भक्तजनको भिड बढे पनि पाथीभरा दर्शन तथा पूजा गर्नमा भक्तजनका लागि समितिका कर्मचारी र सुरक्षाकर्मीले सहजीकरण साथै व्यवस्थापनमा सहयोग गरेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए। समितिका अनुसार यो सिजनमा यसअघि दसैँ को विजयादशमी (टीका) को दुई दिनपछि द्वादशीका दिन दुई हजार ७१७ जना भक्तजनले पाथीभरा दर्शन गरेका थिए ।

पाथीभरा दर्शन गर्ने मुख्य सिजनअन्तर्गत दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा कुल १६ हजार ३३२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।

दसैँको घटस्थापनाको समयमा अत्यधिक भक्तजन पाथीभरा दर्शन गर्न आउने गरेकामा यसवर्ष अविरल वर्षाका कारण ठाउँठाउँमा गएको बाढी र पहिरोले यातायात सेवा अवरुद्ध हुँदा भक्तजन प्रभावित भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: