पोखरामा निर्माणाधीन ‘सिग्नेचर’ पुलको प्रगति सुस्त, ठेक्का म्याद वैशाखसम्म थप

Share:

पोखरा । पोखरा-मुग्लिन सडकअन्तर्गत सेती नदीमा निर्माण भइरहेको आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुलको निर्माण प्रगति सुस्त देखिएको छ। तीन वर्षे ठेक्का अवधि भदौमा सकिएको भए पनि हालसम्म जम्मा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

पुल निर्माणको जिम्मा लिएको रसुवा कन्स्ट्रक्सनले आवश्यक सामग्री, विशेषतः केबल, समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार निर्माण कम्पनीलाई आगामी वैशाखसम्म म्याद थप गरिएको छ, तर अहिलेको ढिलो गतिमा तोकिएको समयभित्र काम सकिन मुस्किल देखिएको छ।

डिजाइन स्वीकृतिमा लाग्यो एक वर्ष

पुल निर्माणको ठेक्का २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले लिएको थियो। तर पहिलो एक वर्ष डिजाइन स्वीकृत गर्ने र संरचना हटाउने काममै बितेको आयोजनाले जनाएको छ। पछिल्लो दुई वर्षमा केही गति लिए पनि अपेक्षित प्रगति नहुँदा पुल निर्माणमा समयसीमा प्रभावित भएको हो।

चीनबाट ल्याइने केबलका लागि एलसी (Letter of Credit) खोल्ने तयारी भइरहेको जानकारी दिँदै कुँवरले पुलको चारवटा जग तयार भइसकेको र चार टावरको काम अन्तिम चरणमा पुगेको बताए।

आकर्षक डिजाइन

‘केबल–स्टेड’ प्रविधिमा निर्माणाधीन १९० मिटर लामो यो ‘सिग्नेचर’ पुलको डिजाइन विदेशी प्राविधिकको टोलीले तयार पारेको हो। कङ्क्रिट र फलामको प्रयोग गरिने पुलको बनावट अहिलेको पुरानो संरचनाको तुलनामा धेरै आकर्षक र प्रविधिमैत्री हुने बताइएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत करिब ९४ करोड रुपैयाँ (भ्याटबाहेक) को लागतमा निर्माण भइरहेको यो पुल पोखराको पर्यटकीय पहिचानमा थप मूल्य जोड्ने विश्वास लिइएको छ।

११ पुल सकिए, २ निर्माणाधीन

पोखरा-मुग्लिन सडक स्तरोन्नति योजनाअन्तर्गत पश्चिम खण्ड (पोखरा-जामुने) मा हालसम्म ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। विजयपुर खोला र सेती नदीमा पुल निर्माणको काम अझै जारी छ।

यसअघि तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला-१, फेदीखोला-२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण पूरा भइसकेको छ।

पचास वर्षअघि बनेको पृथ्वी राजमार्गको यो खण्ड सन् २०७८ वैशाखदेखि स्तरोन्नति कार्यमा रहेको छ। चार लेनको मापदण्डमा निर्माण भइरहेको यस सडकले क्षेत्रीय यातायात तथा पर्यटनमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: