
पोखरा । संस्कृति र पर्यटनको संगमस्थल पोखरा यस वर्ष पनि तिहारको रौनकसँगै विशेष सांस्कृतिक उत्सवको तयारीमा जुटेको छ। होटल संघ पोखरा नेपालले यस वर्ष १८औं भाइटिका महोत्सव २०८२ को आयोजना कात्तिक ६ गते गर्ने भएको छ। मनमोहक लेकसाइडस्थित होटल पौवा को प्रांगणमा महोत्सवको भव्य आयोजना हुने तय भएको छ।
संघका अध्यक्ष लक्ष्मण सुबेदीका अनुसार, तिहार पर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिँदैछ। ूपछिल्लो समय देशको आर्थिक र राजनीतिक परिवेशले पर्यटन क्षेत्रलाई प्रभाव पारेको अवस्थामा यस्ता सांस्कृतिक कार्यक्रमले पर्यटनलाई पुनः लयमा फर्काउन मद्दत पुग्ने विश्वास लिएका छौँ,ू अध्यक्ष सुबेदीले बताए।
महोत्सवका संयोजक एवं संघका उपाध्यक्ष गणेशराज पहारीले यसपटक विभिन्न मुलुकका पर्यटकले कार्यक्रममा सहभागिता जनाउने र कतिपयले त दोहोर्याएर टिका लगाउन समेत आउने अपेक्षा गरिएको जानकारी दिए। उनका अनुसार, महोत्सवमा तिहारको पाँचै दिन – काग तिहारदेखि भाइटिकासम्मको महत्व, दीपावलीको ऐतिहासिक र सांस्कृतिक पक्ष, र नेपाली समाजमा यसको भूमिका बारे पर्यटकलाई जानकारी दिइनेछ।
यस महोत्सवले तिहारको मौलिकता र रंगीनतासँगै पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। पोखराका लागि नयाँ पर्यटकीय प्रडक्टको रूपमा विकसित हुँदै गएको यो कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।
कार्यक्रम दिउँसो पौने तीन बजे सुरु हुनेछ, र सबै मिडियाकर्मी, पर्यटन व्यवसायी तथा संस्कृति प्रेमीहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ। यस महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका ले प्रवर्द्धन गरेका छन् भने गोर्खा बियर र सोमरसबी को सहकार्य रहेको छ। कार्यक्रमको अनलाइन पार्टनर ‘रिभेल’ रहेको छ।
