पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट, अन्तर्राष्ट्रिय फाइटरहरूको सहभागिता

Share:

पोखरा । नेपालमा पछिल्लो समय मुवाथाई र एमएमए (मिक्स मार्सल आर्ट्स) खेलप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको छ। विशेषगरी पोखरामा यस किसिमका अन्तर्राष्ट्रिय इभेन्टहरू आयोजना हुँदै आइरहेका छन्।

साक यान्त मुवाथाई’ ले पोखरामा आयोजना गर्दै आएको ‘द कन्टेन्डर फाइट सिरिज’ अब तेस्रो संस्करणमा प्रवेश गर्न लागेको छ। यसपटक भने यो श्रृंखलाले नयाँ मोड लिँदै, एमएमए (MMA) को समेत आयोजना गर्न लागेको छ, जुन गण्डकी प्रदेशमै पहिलोपटक केज फाइट (Cage Fight) को रूपमा हुने भएको हो।

तेस्रो संस्करणको फाइट सिरिज आगामी पुस १०, ११ र १२ गते पोखराको लेकसाइडमा आयोजना गरिनेछ। प्रतियोगिता खुला तथा निःशुल्क प्रवेश हुने आयोजकले जानकारी दिएका छन्। फाइट नाइटको रोमाञ्च थप गर्न केज फाइटको अवधारणा ल्याइएको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्री बताउँछन्।

उनका अनुसार “पोखरा पर्यटन राजधानी हो, त्यसैले खेल र पर्यटनलाई जोड्ने हेतुले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। सम्भवत: गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट यही संस्करणमा देख्न पाइनेछ।”

अन्तर्राष्ट्रिय सहभागिता

प्रतियोगितामा हालसम्म नेपालसहित स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका देशका फाइटरहरूले सहभागिता जनाइसकेका छन्। यसले फाइट सिरिजलाई अन्तर्राष्ट्रिय स्तरमा एक महत्वपूर्ण स्थान दिलाउने आयोजकको विश्वास छ।

एमएमए विश्वभरका व्यावसायिक मार्शल आर्ट्सहरूलाई समेट्ने एक उत्कृष्ट र पूर्ण स्वरूपको खेल मानिन्छ। यसको प्रत्यक्ष अनुभव पोखरावासी र यहाँका पर्यटकले पहिलोपटक आफ्नै शहरमा लिन सक्ने भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: