
पोखरा । पोखराको पर्यटन क्षेत्रमा सक्रिय सघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले आफ्नो २५औं वार्षिक साधारणसभा बिहीबार एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ। परिषद्को स्थापना कालदेखि पर्यटन प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको संस्थाले यो अवसरमा पर्यटन विस्तार, समस्या समाधान र एकताको सन्देश दिएको छ।
कार्यक्रमको उद्घाटन परिषद्का संस्थापक अध्यक्ष तथा सल्लाहकार अशोक पालिखेले दीप प्रज्वलन गरेर गरे। उनले परिषद् स्थापनाको प्रेरणा, चुनौती र सफलताका प्रसंगहरू उल्लेख गर्दै पोखराको पर्यटनलाई लेकसाइड केन्द्रित सीमाबाट हटाई सम्पूर्ण पोखरामा विस्तार गर्नुपर्नेमा जोड दिए।
परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार डम्बरबहादुर केसीले परिषद्सँग आबद्ध १४ संस्थाबीच एकता र समन्वयको खाँचो औंल्याउँदै पर्यटनको साझा लक्ष्यप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताए।
परिषद्का वर्तमान अध्यक्ष तारानाथ पहारीले पोखराको पर्यटन क्षेत्रमा भइरहेका नवीन पहल र चुनौतीहरूको समाधान गर्न सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने धारणा राखे। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक चाटर्ड उडान सुरु भइसकेको जानकारी दिंदै, नियमित अन्तर्राष्ट्रिय उडानका लागि परिषद् सक्रिय रूपमा लागिरहेको जानकारी गराए।
कार्यक्रमको उद्घाटन सत्र महासचिव जीवनराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो भने प्रथम उपाध्यक्ष हरि भुजेलले स्वागत मन्तव्य राख्नुभएको थियो। विशेष अतिथिका रूपमा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन महाशाखा प्रमुख हेमा पोखरेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले पर्यटन क्षेत्रको सम्भावना र चुनौतीबारे आ-आफ्ना विचार व्यक्त गरेका थिए।
साधारणसभाको बन्द सत्रमा महासचिव सापकोटा र कोषाध्यक्ष बाबुराम पाण्डेद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरियो। अध्यक्ष पहारीकै अध्यक्षता र सचिव नारायण सुवेदीको सञ्चालनमा सम्पन्न बन्द सत्रमा द्वितीय उपाध्यक्ष चौबहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए।
सत्रमा निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ र पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल लगायतका अतिथिहरूले आ-आफ्ना धारणा राख्दै परिषद्को गतिविधिप्रति सकारात्मक प्रतिक्रिया जनाए। साधारणसभाले पोखराको पर्यटन विकासलाई समन्वय, रणनीति र सक्रिय कार्यान्वयन मार्फत अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।
