तत्कालीन ऊर्जामन्त्रीविरुद्धको स्टाटस देखाउँदै शिक्षामन्त्री: मेरो भविष्यवाणी मिल्यो

Share:

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तत्कालीन ऊर्जामन्त्री दीपक खड्काविरुद्ध लेखेको स्टाटस सेयर गर्दै आफ्नो भविष्यवाणी मिलेको दाबी गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले हटाउँदा पुनले त्यतिखेरका ऊर्जामन्त्री खड्कालाई जनआन्दोलनमार्फत हटाउनुपर्ने भनी फेसबुकमा लेखेका थिए।

संयोगवश जेनजी आन्दोलनपछि ओली सरकार ढलेपछि बनेको अन्तरिम सरकारमा मन्त्री बनेका पुनले अहिले त्यही पोस्ट सेयर गर्दै आफूले भनेको कुरा मिलेको उल्लेख गरेका हुन्। ‘म भविष्यवाणी गर्ने ज्योतिषी ता होइन तर मैले बेलाबेलामा भनेका कुराहरू निकै मिल्न जान्छन्। तलको फोटो हेनुहोस्। जेनजी आन्दोलन सुरु हुनुभन्दा १४० दिनअगाडि जेठ महिनाको ७ गते (मे २१) मोरङ जिल्लाको बेलवारीतिर किताब बेच्दै गर्दा मैले तलको फेसबुक पोस्टमा त्यसो भनेको थिएँ, उनले फेसबुकमा लेखेका छन्, ‘नभन्दै त्यो फटाहा ऊर्जामन्त्रीलाई लखेट्न र भ्रष्ट सरकारलाई हटाउन भदौ २३ र २४ को जेनजी आन्दोलन भयो त। मेरो भविष्यवाणी ठ्याक्कै मिल्यो नि। यति भएपछि म पनि भविष्यवाणीगर्ने ज्योतिषजस्तै भएँ। मेरो अरू पनि भविष्यवाणीहरू छन्। भन्दै गरुम्ला।’

कमेन्ट गर्नुहोस्
Share: