
काठमाडौं । पोखरा विश्वविद्यालयले पहिलोपटक राजधानी काठमाडौं उपत्यकामा आफ्नो आंगिक क्याम्पस स्थापना गरेको छ। ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई अब पोखरा विश्वविद्यालयको पाँचौं आंगिक क्याम्पसको रूपमा सञ्चालनमा ल्याइएको हो।विश्वविद्यालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधि संकायका डिन डा. बुद्धिराज जोशीले क्याम्पस सञ्चालनको औपचारिक घोषणा गरेका थिए।
उनका अनुसार नयाँ क्याम्पसमा सूचना प्रविधि र कानुन विषयसँग सम्बन्धित त्रिविध स्नातक कार्यक्रमहरू सञ्चालन गरिने छन्- बिएएलएलबी, बिएससी सीएसआइटी, र बिएआइडीएस (आर्टिफिसियल इन्टेलिजेन्स एन्ड डेटा साइन्स)। यी कार्यक्रमहरूमा कुल सिटमध्ये ८० प्रतिशत शुल्क तिरेर र २० प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले अध्ययन गर्न सक्नेछन्। छात्रवृत्तिका लागि सामुदायिक विद्यालयका विद्यार्थी, दुर्गम क्षेत्रका, सिमान्तकृत समुदाय र द्वन्द्वपीडितहरूलाई प्राथमिकता दिइनेछ। साथै, प्रत्येक सेमेस्टरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था हुनेछ।
मानविकी संकायका डिन सुरेन्द्र तिवारीका अनुसार क्याम्पसमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन्, भने कात्तिक २८ गते प्रवेश परीक्षा हुने जानकारी दिइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका निर्देशक दीपाञ्जल श्रेष्ठले एआई र डेटा साइन्समा आधारित कार्यक्रमहरू आधुनिक शिक्षा प्रणालीसँग सुसम्बद्ध गराउने उद्देश्यले ल्याइएको बताए। हालका लागि स्नातक तहका कोर्सहरू सञ्चालनमा आए पनि आगामी वर्षदेखि स्नातकोत्तर तहका कार्यक्रमहरू पनि सुरु गरिने योजना रहेको विश्वविद्यालयले जनाएको छ।
योसँगै पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसको संख्या पाँच पुगेको छ, जसमध्ये चार क्याम्पस पोखरामा छन् र पहिलोपटक काठमाडौंमा विस्तार गरिएको हो।
