
पोखरा। लागू औषधको कारोबार विरुद्धको अभियान अन्तर्गत कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १७, घारीपाटनबाट लागू औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, विशेष सूचनाको आधारमा प्रहरीको टोलीले शनिबार राति करिब ९:२५ बजे २५ वर्षीय नवराज चापागाईं थापालाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक खानतलासीको क्रममा उनको साथबाट ३ वटा स-साना पुरियामा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।
थप अनुसन्धानका क्रममा प्रहरीले चापागाईंको निवास खानतलासी गर्दा हेल्मेट र पहेँलो रंगको बट्टामा लुकाइछिपाई राखिएको अवस्थामा थप १३ वटा पुरिया फेला पारेको छ। बरामद लागू औषधको तौल जम्मा ०.९२ ग्राम रहेको छ।
साथै प्रहरीले घटनास्थलबाट नगद ९४ हजार ५ सय र दुई थान मोबाइलसमेत बरामद गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ। जिल्ला अदालत, कास्कीबाट सात दिनको म्याद थप स्वीकृति प्राप्त भइसकेको छ।
प्रहरीले यस किसिमका क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन सर्वसाधारणसँग सहयोगको आह्वानसमेत गरेको छ।
