
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवत् नेपालीलाई एकता, परोपकार र उज्यालो तर्फ अग्रसर गराउने मौलिक चाड भएको बताएका छन्। नेपाल संवत् ११४६ को अवसरमा जारी शुभकामना सन्देशमा प्रदेश प्रमुख भट्टले नेपाल संवत्ले समाजमा शान्ति, समानता र आत्मसम्मानको भावना जगाउने उल्लेख गरेका छन्।
उनले भनेका छन्, “नेपाल संवत्ले हामीलाई परोपकार तर्फ, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस्।” प्रदेश प्रमुखको सन्देशमा नेपाल संवत् नेपालको मौलिक संवत् भएको र परोपकारी उद्देश्यले थालनी गरिएको उल्लेख छ।
शंखधर शाख्वाको योगदान राष्ट्रको गौरव
नेपाल संवत्का प्रवर्तक शंखधर शाख्वा को योगदानलाई स्मरण गर्दै भट्टले सामाजिक परिवर्तनको थालनी गर्ने व्यक्तिको रुपमा शाख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “शंखधर शाख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमानपूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभयो।”
प्रदेश प्रमुख भट्टले नेपाल संवत्को मूल भावना समाजमा गरिबी, असमानता र अन्यायविरुद्धको संघर्ष रहेको उल्लेख गर्दै यसले हामी सबैलाई सहअस्तित्व र समानताको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
नेपाल संवत्ले हाम्रो समाजमा रहेको असमानताको खाडल पुर्न र सबै नेपालीलाई एकताको सूत्रमा बाँध्न मद्दत गरोस्, शुभकामना सन्देशमा उल्लेख छ। प्रदेश प्रमुखले सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक न्यायको भावना विकास गर्न नेपाल संवत् जस्तो सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा राखेका छन्।

