जेनजी आन्दोलनका उपद्रवीमाथि प्रहरीको कडा कारबाही, उपत्यकाबाट १३२ जना पक्राउ

329
0
Share:

काठमाडौं। हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले व्यापक धरपकड अभियान सुरु गरेको छ। प्रहरीका अनुसार, आन्दोलन शुरु भएयता उपत्यकाका तीन जिल्लाबाट मात्रै १३२ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये कर्तव्यज्यान, लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारजस्ता गम्भीर मुद्दाका अभियुक्तहरू रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, अहिलेसम्म काठमाडौंबाट ९८ जना पक्राउ परेका छन्। उनका अनुसार, पक्राउ परेकामध्ये केहीको अनुसन्धान सकिएर अदालतमा पेश गरिसकिएको छ।

“अनुसन्धान सकेर अदालत पठाइएकामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्,” एसपी भट्टराईले भने, “तीमध्ये ४ जना प्रहरी हत्यामा संलग्न छन् भने २ जना आपराधिक उपद्रवका अभियुक्त हुन्।”

उनीहरूको पक्राउमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर र प्रहरी वृत्तहरूको टोली सक्रिय रहेको बताइएको छ। प्रहरीका अनुसार, हालसम्म पनि २२ जना व्यक्ति परिसरको हिरासतमा रहेका छन्। केहीलाई हाजिरी जमानीमा छाडिएको भए पनि, ती सबैमाथि मुद्दा दर्ता प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, आन्दोलनकै क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये १३६ जनालाई पुनः पक्राउ गरी बुझाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: