पोखरामा ट्रान्सफर्मरबाट तामाको तार चोरी गर्ने समूह सक्रिय, विद्युत आपूर्तिमा अवरोध

Share:

पोखरा । हालै पोखरामा ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार चोरी गर्ने समूह सक्रिय बनेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । लगातार भइरहेका चोरीका घटनाले पोखराका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार पोखरा-१८, ग्यारजाती, सुन्दर चौतारा, पदेंली, पोखरा-२१ पोख्रेल थोक, पोखरा-२२ पुम्दीभुम्दी र अन्नपूर्ण गाउँपालिकाको अधिकारी डाँडा लगायतका क्षेत्रमा रहेका चालु अवस्थाका ट्रान्सफर्मरबाट तामाको तार चोरी भएका छन्।

तार चोरीपछि ती क्षेत्रका सयौं उपभोक्ताले केही समय विद्युत् सेवा अवरुद्ध हुनुपरेको प्राधिकरणले जनाएको छ। चोरीका घटनाहरू बढ्दै गएपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ट्रान्सफर्मर वरपर शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन उपभोक्तालाई अनुरोध गरेको छ।

पोखरा वितरण केन्द्रका ग्रामीण शाखा इन्चार्ज शोभाकर पौडेलका अनुसार तार चोरीका घटना विशेष गरी ग्रामीण क्षेत्रहरूमा बढी देखिएको छ। उनले भने, “चालु ट्रान्सफर्मरमा हात हालेर तार चोरी गर्ने कार्य अत्यन्त जोखिमपूर्ण र गैरकानुनी हो। यसले सेवा अवरुद्ध मात्र होइन, जनधनको पनि जोखिम बढाउँछ।”

प्राधिकरणले यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ र चोरी नियन्त्रणका लागि ट्रान्सफर्मर क्षेत्रका वरिपरि सुरक्षा व्यवस्थामा कडाइ गर्न माग गरेको छ। साथै चोरीमा संलग्न समूहको पहिचान गरी कडा कारबाही गर्न आग्रह गरिएको छ।

सीमित स्रोत र भौगोलिक कठिनाइबीच पनि प्राधिकरणले जनतालाई निरन्तर र सुरक्षित विद्युत सेवा उपलब्ध गराउन रातदिन प्रयासरत रहेको इन्चार्ज पौडेलले बताए। प्राधिकरणले ट्रान्सफर्मर वरिपरि शंकास्पद गतिविधि वा व्यक्ति देखिएमा तुरुन्त नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका नम्बरहरू ०६१-५७००३० र ०६१-५७००३१ मा सम्पर्क गर्न सबै उपभोक्तालाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: