फेवा ताल किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य, पोखरामै उल्लासपूर्वक मनाइयो छठ पर्व

Share:

पोखरा । आस्था र श्रद्धाको महान् पर्व छठ पोखरामै भव्य रूपमा मनाइएको छ। सोमबार साँझ फेवा ताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको मुख्य दिन श्रद्धा-भक्तिसहित सम्पन्न गरिएको हो।

रातो र पहेँलो पोशाकमा सजिएका महिलाहरूले फलफूल, ठेकुवा, भुसुवा, नारिवल, गन्ना र अन्य प्रसादका साथ सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा फेवा तालको किनार भक्तिभाव र धार्मिक उत्साहले भरिएको थियो। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ।

पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई-मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षहरूमा पोखरामै छठ पर्व मनाउने परम्परा स्थापित गरेका छन्। यसले पोखराको सांस्कृतिक विविधता र धार्मिक सह-अस्तित्वलाई अझ बलियो बनाएको छ।

फेवा किनारमा आयोजित पूजामा नारीहरूको व्रत, शुद्धता र सूर्यप्रति कृतज्ञता झल्किएको थियो। भक्तजनहरूले सूर्यलाई जीवन, ऊर्जा र समृद्धिको स्रोतका रूपमा आराधना गर्दै नेपालभरका छठव्रती महिलाको समान भावना पोखरामै प्रतिध्वनित भएको बताएका छन्।

फेवा तालमा झल्किएको श्रद्धा र सौन्दर्यले पोखरामा पनि तराईको आस्था छठ पर्वको उज्यालो फैलिएको छ।

कमेन्ट गर्नुहोस्
Share: