
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका-१० माईधार चोकनजिकै आज (मंगलबार) बिहान भएको रात्रिबस दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्। रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र१–०१–००१क ४२०९ नम्बरको रात्रिबस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते १९ जनालाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ गएका छन्। दुर्घटनाग्रस्त बस हाल घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा अवरोध नभएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक राजु भुजेल (३९ वर्षीय, मेचीनगर-६) सहित झापाका र रामेछाप, दोलखा, बाह्रदशीलगायत विभिन्न जिल्लाका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये इक्षा लिम्बू (१७ वर्षीय), रविलाल गणेश (२० वर्षीय), परिना गणेश (२१ वर्षीय), सिमित्रा खड्का कार्की (३६ वर्षीय) र उनका छोरा एलोन (९ वर्षीय ) लगायतका यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार बस अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयबासीका अनुसार बिहान सबेरै ठूलो आवाज आएपछि उनीहरू घटनास्थल पुगेका थिए। तत्काल उद्धार कार्य गरी घाइतेहरूलाई अस्पताल पठाइएको थियो।
