मनाङ-मुस्ताङमा भारी वर्षा र हिमपात, तिलिचोमा फसेका ७५० पर्यटकको उद्धार

Share:

काठमाडौं । पश्चिमी वायु र अरब सागरबाट उत्पन्न न्यूनचापीय प्रणालीका कारण देशभर मौसम बदली भएको छ भने हिमाली जिल्ला मनाङ र मुस्ताङमा भारी वर्षा र बाक्लो हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा अभिलेख भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार ५० मिलिमिटरभन्दा बढी वर्षा ‘भारी वर्षा’को मापदण्डमा पर्छ।

त्यसैगरी डोल्पाको दुनैमा ३६, जुम्लामा १३, बागलुङ र पर्वतमा २४, प्यूठानमा २१.८, सिन्धुपाल्चोकमा २९.६, चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। विभागका अनुसार हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ भने तल्लो भेगमा लगातार वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि तापक्रम घटेपछि चिसो बढेको छ, यद्यपि वर्षा भने हल्का मात्र भएको विभागले जनाएको छ।

हिमपातले पर्यटक अलपत्र, ७५० जनाको उद्धार

लगातारको हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा फसेका करिब ७५० जना पर्यटकलाई उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका पर्यटकहरूलाई डिस्याङ गाउँपालिका-९ खाङसार ल्याइएको हो।

थापाका अनुसार अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमै सुरक्षित राखिएको छ। पर्यटकहरूलाई खाङसारमा बसोबासको समस्या भएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले समन्वय गरी सुरक्षित रूपमा फर्काउने व्यवस्था मिलाइएको छ।

यसैबीच, लेक लागेर वेहोस भएका काठमाडौं महानगरपालिका-३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले उद्धार गरी हुम्डे स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍याएको छ।

हिमपात र वर्षाको जोखिम, सावधानीको आग्रह

जल तथा मौसम विज्ञान विभागले आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने बताउँदै सावधानी अपनाउन आग्रह गरेकी छन्।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा हिमाली क्षेत्रमा उद्धार कार्य तीव्र बनाएको प्राधिकरणले जनाएको छ। पर्वतीय उद्धार तालिम शिक्षालय स्थापनापछि यस्ता घटनामा शीघ्र उद्धारमा सहजता आएको समेत बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: