हिमाली जिल्लामा हिउँ, सशस्त्र प्रहरीले पर्यटकलाई सुरक्षित यात्रा र सावधानी अपनाउन आग्रह

Share:

पोखरा । मनाङ, मुस्ताङ र म्याग्दीका उच्च हिमाली क्षेत्रहरुमा गएरातीदेखि परेको हिउँको असरका कारण पर्यटक र पदयात्रुहरुको सुरक्षा र सहजतामा चुनौती आउन सक्ने भन्दै सशस्त्र प्रहरीले सचेत गराएको छ।

मुस्ताङको लोमाङथाङ गाउँपालिका-५ नेचुङस्थित उपल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल बोर्ड र आउट पोष्ट नेचुङले हिउँ पन्छाउँदै पदयात्रुहरुलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ। कोरला नाका जाने बाटोमा जमेको हिउँ हटाइएको छ भने थप हिमपात भएमा त्यहाँ भ्रमण नगर्न सुझाव दिइएको छ।

मनाङको डिस्याङ गाउँपालिका-४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने मार्गमा पनि सशस्त्र प्रहरीले हिउँ हटाइ यात्रा सहज बनाएको छ। टोलीले पर्यटकहरुलाई मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रुहरुलाई सहजता र सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ म्याग्दीको टोली खटिएको छ। टोली हुमखोला भन्दा माथीसम्म पुगेर पदयात्रुको मार्ग सुरक्षित बनाएको जानकारी दिइएको छ। सशस्त्र प्रहरीका अनुसार हिउँ र प्रतिकूल मौसमका कारण जोखिम बढ्ने भएकाले पर्यटकहरुले सावधानी अपनाउनुपर्ने चेतावनी दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: