
मुस्ताङ । मङ्गलबारको हिमपातपछि मुस्ताङमा बुधबार बिहानदेखि निरन्तर वर्षा जारी रहँदा जनजीवन प्रभावित भएको छ । जिल्लाका पाँचैवटा स्थानीय तहमा लगातार वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रहरू सेताम्मे बनेका छन् ।
यसअघि उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड, लोमान्थाङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । तल्लो मुस्ताङका घरपझोङ र थासाङ गाउँपालिकामा उच्च भूभागमा मात्र हिमपात भए पनि यस वर्ष कात्तिकमै हिमपात हुनु असामान्य घटना मानिएको छ ।
निरन्तर वर्षाले विद्यालय जाने बालबालिकालाई सास्ती भएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले बताए । “धेरैजसो विद्यार्थी घरबाट हिँडेरै विद्यालय आउँछन्, लगातार वर्षाले आउजाउमा समस्या परेको छ,” उनले भने । यद्यपि विद्यालयहरूमा पठनपाठन भने जारी छ ।
मुक्तिनाथ क्षेत्रमा पनि अविरल वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । उनका अनुसार हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मन्दिर खुल्लै रहेको छ ।
यसैबीच, वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम-कोरला सडक खण्डमा पहिरो खसेर आवागमन पूर्ण रूपमा ठप्प भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित एक्लेभट्टी नजिक र ताङ्वे सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
स्थानीय प्रशासनले मनसुन अझै सक्रिय रहेकाले हिमपात र पहिरोको जोखिम बढ्न सक्ने भन्दै राति यात्रा नगर्न आग्रह गरेको छ ।
