फेवातालमा डुंगा पल्टियो, तीन जनाको उद्धार, सुरक्षाकर्मीको द्रुत प्रतिक्रियाले टर्यो ठूलो दुर्घटना

Share:

पोखरा । पर्यटकीय सहर पोखराको मुटु मानिने फेवातालमा शुक्रबार बिहान डुंगा पल्टिँदा तीनजनाको सकुशल उद्धार गरिएको छ। समयमै पुगेको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले चमत्कारिक रूपमा उनीहरूको ज्यान जोगाएको हो।

घटनामा पोखरा-६, लेकसाइडस्थित तालमा डुंगा अचानक पल्टिँदा डुंगाचालक महेश सुनार (४०, आमबोटघाट), यात्रु सोमबहादुर तामाङ (४९, बुटवल-३) र लालमान थारू (४४) पानीमा डुबेका थिए।

घटनाको खबर पाएलगत्तै फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमान्डमा खटिएको टोलीले मोटरबोटको सहयोगमा तिनै जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

उनका अनुसार उद्धार कार्यमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीका जवानहरू सक्रिय रूपमा संलग्न थिए। द्रुत गतिमा सञ्चालन गरिएको उद्धार कार्यका कारण संभावित ठूलो दुर्घटना टर्‍यो।

फेवातालमा हरेक दिन सयौं आन्तरिक तथा बाह्य पर्यटक डुंगा यात्रामा रमाउने गर्छन्। यस घटनाले फेरि एकपटक तालमा डुंगा सुरक्षासम्बन्धी मापदण्ड र सतर्कता अझ कडा बनाउने आवश्यकतामा ध्यानाकर्षण गराएको छ।

कमेन्ट गर्नुहोस्
Share: