स्वास्थ्य मन्त्री पाठकद्वारा नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण

Share:

पोखरा। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री पाठकलाई संघका सभापति नवीन सिग्देल, पदाधिकारी, सदस्य तथा कर्मचारीहरूले स्वागत गरेका थिए।

निरीक्षणका क्रममा मन्त्री पाठकले संघले हालसम्म प्रदान गर्दै आएको स्वास्थ्य सेवा, संरचनागत अवस्था, समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिए ।

संघका गतिविधि र सेवाबारे वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले विस्तृत विवरण प्रस्तुत गरेका थिए। निरीक्षणपछि मन्त्री पाठकले स्वास्थ्य मन्त्रालय नेपाल परिवार नियोजन संघसँग सहकार्य गर्न तयार रहेको बताए।

“संघले समुदायस्तरमा प्रभावकारी सेवा दिँदै आएको छ। आगामी दिनमा मन्त्रालय र संघबीच छलफल गरी सहकार्यका ठोस दिशा तय गरिनेछ,” मन्त्री पाठकले भने।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले स्वास्थ्य क्षेत्रमा सेवा विस्तार गर्ने तीव्र इच्छा र उत्साह भए पनि शून्य बजेटका कारण काम गर्न कठिनाइ भएको बताए।

पोखरा-१२, उपकार मार्गस्थित संघको कार्यालयमा हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एचआईभी परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण, यौनिक तथा लैङ्गिक हिंसामा परेकाहरूका लागि परामर्श र उपचार लगायत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध छन्।

संघले यससँगै प्रयोगशालासम्बन्धी सेवा पनि प्रदान गर्दै आएको छ। हालैदेखि संघले भिडियो एक्स-रे सेवा समेत सञ्चालनमा ल्याएको छ, जसले सेवा प्राप्तकर्तालाई थप सहजता प्रदान गरेको छ।

संघका पदाधिकारीहरूको भनाइमा, संघको सेवा प्रभावकारी भए पनि स्रोतसाधन र सरकारी समन्वयको कमीले सेवा विस्तारमा चुनौती सिर्जना गरेको छ। मन्त्री पाठकको निरीक्षणपछि भने संघले सहकार्य र समन्वयका नयाँ सम्भावनाहरू खुल्ने आशा व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: